• १४ मंसिर २०८१, शुक्रबार

चमेराको रेडियोमोह

blog

वराहक्षेत्र नगरपालिका–४, दुब्याईस्थित घरमा रेडियो सुन्दै चमेरा मुसहर । तस्बिर : बाबुराम कार्की

वराहक्षेत्र समाचारदाता 

वराहक्षेत्र, कात्तिक ११ गते । रेडियोमा पनि कर तिर्नु पथ्र्याे भन्दा अहिलेका युवालाई अचम्म लाग्न सक्छ तर चार दशकअघि तत्कालीन सरकारले रेडियोमा पनि कर लगाएको थियो । रेडियोमा कर र मूल्य पनि राम्रै पर्ने भएपछि सामान्य परिवारले रेडियो किन्न सक्दैनथे । 

वराहक्षेत्र–४ बस्ने ५६ वर्षीय चमेरा मुसहरको रेडियोमोह अझै पनि छँदै छ । समय बित्यो, व्यवस्था फेरियो, सञ्चारका प्रविधि थपिँदै गए तर उहाँको मन भने फेरिएको छैन । जवानीदेखि रेडियो सुन्ने बानी लागेको उहाँमा जवानी ढल्किँदै जाँदा पनि रेडियोमोह त्यत्तिकै छ । काम गर्दा होस् वा आराम गर्दा, उहाँको साथमै रेडियो हुन्छ । अहिले पनि उहाँको दैनिकी बिहान उठेदेखि रेडियोबाटै सुरु हुन्छ । काममा जाँदासमेत रेडियो उहाँको साथैमा हुन्छ । 

रेडियो सुन्ने इच्छा जागेपछि २०३४ सालमा आफूले पालेको हलगोरु पाँच सय रुपियाँमा बेचेर पानासोनिक कम्पनीको रेडियो किनेको चमेराले बताउनुभयो । “त्यस बेला अरूले जग्गा जोड्थे, मैले चाहिँ रेडियो किनेँ,” उहाँले भन्नुभयो । 

तत्कालीन पञ्चायत सरकारले त्यस बेला रेडियोमा तीन रुपियाँ कर लगाएको थियो । रेडियो बोक्न पनि लाइसेन्स चाहिन्थ्यो । रेडियो किन्दै १५ रुपियाँ तिरेर लाइसेन्स बनाउने व्यवस्था थियो । जिल्लाभरिका रेडियोका लाइसेन्स बनाउन सुनसरी सदरमुकाम इनरुवा जानु पथ्र्यो । 

चमेराका छिमेकी भविन सरदार भन्नुहुन्छ, “पहिलेका कुरा सुनाउँदा अचेलका युवा त्यस्तो पनि हुन्थ्यो र भन्दै चकित पर्छन् । अचेल प्रत्येकका घरमा रेडियो भए पनि गाउँमा रेडियो कसैले सुन्दैनन् तर चमेराको रेडियो सदाबहार बजिरहन्छ ।” चमेराले रेडियो किनेपछि गाउँभरिका सबै मानिस रेडियो सुन्न आउँथे । 

“पहिले सबै जना भेला भएर रेडियोमा समाचार, नाटक, गीत सुन्थ्यौँ अहिले रेडियो सुन्ने गाउँमा कोही छैनन् । म एक्लै भए पनि रेडियो सुन्न छाडेको छैन,” चमेराले भन्नुभयो, “रेडियो देखेदेखि सुन्ने ठुलो इच्छा थियो । तत्कालीन समयमा रेडियो जहाँ पायो त्यही किन्न पनि पाइँदैनथ्यो । 

रेडियोसँगै बजाउनका लागि लाइसेन्स चाहिन्थ्यो । ३४ सालदेखि ८० सालसम्म आइपुग्दा सात वटा रेडियो चलाइसकेको छु । रेडियो सुन्न बानी परेकालाई मात्र थाहा हुन्छ रेडियोको महत्व । टेलिभिजन हेर्दा पनि साथमा रेडियो भएन भने दिन कटाउनै सक्दिनँ । गाउँमा रेडियोको ब्याट्री नपाउँदा समस्या हुने गरेको छ ।” गाउँघरमा रेडियो सुन्नेको सङ्ख्या कम हुँदै जाँदा चमेराको रेडियो भने गाउँमा बजिरहन्छ । 

जन बनी गर्न जाँदादेखि पाहुना जाँदासम्म उहाँले रेडियो साथमै लाने गरेको छिमेकी दुःखी चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले गाउँमा रेडियो सुन्ने मान्छे छैनन् । सबै मोबाइलमै घोप्टिन्छन् । रेडियोमा खबरका साथसाथै ज्ञानमूलक, मनोरञ्जनात्मक कार्यक्रम रेडियोमा आउँथ्यो । राति पनि अबेरसम्म सुनेर सुतिन्थ्यो ।” एन्ड्रोइड मोबाइल आएदेखि अहिले त गाउँमा टीभी पनि हेर्न छोडे ।