• २२ असार २०८१, शनिबार

सात वर्षमा ८४९ सहकारी बेपत्ता

blog

काठमाडौँ, कात्तिक ११ गते । काभ्रेमा विगत सात वर्षमा ८४९ वटा सहकारी बेपत्ता छन् । तत्कालीन डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये ६४६ वटा मात्र फेला परेका छन् । 

जिल्ला सहकारी सङ्घले गरेको अध्ययनबाट ती सहकारी बेपत्ता भएको तथ्य सार्वजनिक भएको हो । सङ्घीयता कार्यान्वयनपछि डिभिजन सहकारी कार्यालयले १३ वटा स्थानीय निकायलाई दर्ता भएका सहकारीका कागजात बुझाएको थियो । त्यसपछिका अवधिमा सहकारीका बारेमा चासो र खोजी भएन । सङ्घले गणक खटाएर एक महिनासम्म अध्ययन गरेको थियो ।

अध्ययनबाट काभ्रेको जनसङ्ख्याभन्दा दोब्बर सङ्ख्यामा सहकारीको सेयर सदस्य रहेको पाइएको छ । सहरी क्षेत्रका स्थानीय तहमा एकै व्यक्ति धेरै वटा सहकारीमा सदस्य बनेको देखिए पनि ग्रामीण भेगमा भने अझै सहकारीको अभियान पुग्न सकेको छैन । 

२०७८ सालको जनगणना अनुसार काभ्रेपलाञ्चोक जिल्लाको जनसङ्ख्या तीन लाख ६४ हजार ३९ छ तर काभे्रपलाञ्चोकका सहकारीमा छ लाख ६९ हजार १८ जना सदस्य छन् । तीमध्ये १५ वर्षमुनिका बालबालिकाको सङ्ख्या ३० हजारभन्दा धेरै रहेको अध्ययनबाट थाहा भएको छ । सहकारीमा उनीहरू सदस्य छैनन् । 

सहकारी अभियानमा निरन्तर पुरस्कृत र सम्मानित भएको सङ्घले ७७ जिल्लामै पहिलो पटक काभ्रेबाट तथ्याङ्कीय विवरण सङ्कलन सुरु गरेको थियो । अध्ययनपछि तयार गरिएको प्रतिवेदनमा तत्कालीन सहकारी डिभिजन कार्यालयले हस्तान्तरण गरेका सहकारीमध्ये आधाभन्दा धेरै फेला नै नपरेको उल्लेख छ । जिल्ला सहकारी सङ्घ काभ्रेका अध्यक्ष दिलीप शर्माले तथ्याङ्क सङ्कलनका क्रममा आधाभन्दा धेरै सहकारी नभेटिएको बताउनुभयो । 

उहाँका अनुसार कुल सहकारीमध्ये ३२ प्रतिशत बनेपामा छन् । धुलिखेलमा ११ प्रतिशत, पनौतीमा १० प्रतिशत, पाँचखालमा छ प्रतिशत, मन्डनदेउपुरमा १० प्रतिशत, नमोबुद्धमा छ प्रतिशत मात्रै सहकारी संस्था छन् । तेमाल, चौँरीदेउराली, खानीखोला र रोसी गाउँपालिकामा तीन प्रतिशत, महाभारत र बेथानचोकमा चार प्रतिशत तथा भुम्लु गाउँपालिकामा पाँच प्रतिशत सहकारी संस्था रहेका छन् । 

प्रतिवेदन अनुसार कुल सदस्यमध्ये ७८ प्रतिशत ग्रामीण क्षेत्रका छन् भने २२ प्रतिशत मात्रै सहरका छन् । सेयर सदस्यमध्ये ९४ सहर र छ प्रतिशत गाउँमा रहेका छन् । बचत र ऋणतर्फ तीन प्रतिशत गाउँ र ९७ प्रतिशत सहरकै देखिएको छ । तथ्याङ्क अनुसार छ वटा नगरपालिकामा ५०६ वटा सहकारी रहेकोमा सात वटा गाउँपालिकामा जम्मा १४० वटा मात्रै सहकारी छन् । सहकारीमा आबद्ध सेयर सदस्यमध्ये पुरुषभन्दा महिलाको सङ्ख्या धेरै देखिएको छ तर सञ्चालकमा भने पुरुष सदस्यकै बर्चस्व देखिएको छ ।

 तीन हजार ५२४ पुरुष सहकारी सञ्चालक हुँदा दुई हजार २५८ जना मात्रै महिला सहकारीका सदस्य छन् । कर्मचारीमा भने महिलाकै सङ्ख्या धेरै छ । काभ्रेमा सहकारीले दुई हजार ६५५ जनालाई रोजगारी प्रदान गरेको छ । जसमा महिला कर्मचारीको सङ्ख्या एक हजार ६२८ र पुरुषको सङ्ख्या एक हजार २७ रहेको छ । 

सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको भनेर आलोचना भइरहेको समयमा काभ्रेबाट मात्रै सहकारीले राज्यलाई वार्षिक २४ करोड ९१ लाख ८६ हजार रुपियाँ राजस्व तिर्ने गरेको छ । यो रकम प्राकृतिक स्रोत दोहन गरेर क्रसर र ढुङ्गा उद्योग चलाउने स्थानीय तहले गर्ने गरेको आम्दानीभन्दा पनि धेरै हो । काभ्रेमा बचत तथा ऋण सहकारीकै सङ्ख्या धेरै देखिएको छ ।