अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक ९ गते । वालिङमा प्रधान कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं अधिवेशनको निर्वाचन कात्तिक १७ गते हुनेभएको छ ।
कात्तिक ३ गते गर्ने भनिएको संस्थाको सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन १७ गते गरिने भएको हो । निर्वाचन उपसमितिका संयोजक मुक्तिप्रसाद पाण्डेले विजया दशमीका कारण बैठकको निर्णय वमोजिम निर्वाचनको मिति संशोधन गरिएको बताउनुभयो ।
निर्वाचनमा अध्यक्ष पदमा लक्ष्मीपति पौडेल, यमकान्त खनाल, चेतनारायण श्रेष्ठ र जगदिशप्रसाद गैरेको उम्मेदवारी परेको छ ।
यस्तै, उपाध्यक्षमा यज्ञप्रसाद अधिकारी र यमलाल शर्मा पंगेनीको उमेदवारी रहेको छ । लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा दुईजना रहेका छन् ।
यस्तै नौ सदस्य पदका लागि १४ जनाको उम्मेदवारी परेको छ । सञ्चालक समिति सदस्य महिलामा ६ जना र खुल्लातर्फ ८ जनाको उम्मेदवारी रहेको छ ।
संस्थाले वालिङ, बायँटारी, चापाकोटको दामाचौर र कालीगण्डकीको मिर्मी गरी चार वटा सेवाकेन्द्र र वालिङ ७ केवरेमा सदस्य सम्पर्क कार्यालय मार्फत सेवा प्रवाह गर्दैआएको छ । सहकारीमा कूल सात हजार ८१४ जना शेयर सदस्य छन् । संस्थाका चारवटा सेवा केन्द्र र एक वटा सदस्य सम्पर्क कार्यालय गरी ५ स्थानमा मतदान गरिने बताइएको छ ।