• ६ जेठ २०८१, आइतबार

दसैंमा सात करोडभन्दा बढीको खसी–भेडा बिक्री

blog

दसैंका लागि बिक्री गर्न ल्याइएका खसी र भेडा । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, कात्तिक ९ गते ।  यस पटकको दसैंमा हुम्लामा सात करोडभन्दा बढी रुपियाँको खसीभेडा बिक्री भएको पाइएको छ । चीनबाट च्याङ्ग्रा नआउनु र स्थानीय खसीको मूल्य बृद्धि भएका कारण खसी बिक्रीमा बढी आर्थिक कारोवार भएको कृषकको भनाइ छ । 

उद्योग वाणिज्य सङ्घ हुम्लाका बरिष्ठ उपाध्यक्ष रामबहादुर भण्डारीले यस पटकको दसैंका लागि पाँच हजारभन्दा बढी खसी बिक्री भएको बताउनुभयो । उहाँले साना ठूला खसीको मुल्य औसतमा सात करोडको कारोवार यस पटकको दसैंमा भएको बताउनुभयो । 

दसैमा खसीको मूल्य पन्द्रदेखि चालीस हजारसम्म तिर्नुपरेको थियो । खसी बिक्रीबाट भएको आर्थिक कारोवार हालसम्मकै उच्च भएको उहाँको भनाइ छ । पचास जना व्यापारीले दसैंका लागि खसीको व्यापार गर्नुभएको थियो । 

हुम्ला जिल्लाको घरधुरी सङ्ख्या करिब एघार हजार रहेको छ । यी सबै खसी अधिकांश स्थानीय छन् । उहाँले मूल्य जति बृद्धि भए पनि खसीको व्यापार नघटेको बताउनुभयो । लामा समुदायको बसोवास हुने नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिका– ३ र ४ बाहेक जिल्लाभरि दसैं मनाउने गरिन्छ ।