राधाकृष्ण डुम्रे
वालिङ, कात्तिक ७ गते । भीरकोट नगरपालिका ८ मा सञ्चालित छोरेडाँडा गौशालाले गाईको गहुत प्रशोधन गरी ‘गोअर्क’ उत्पादन सुरु गरेको छ ।
नगरपालिकाको सहयोगमा सञ्चालित गौशालाले आधुनिक मेसिन जडान गरी औषधिजन्य गोअर्क उत्पादन सुरु गरेको हो । गौशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्न आर्थिक अभाव हुन नदिन वैकल्पिक उपायको खोजी गरिएको गौशाला व्यवस्थापन तथा प्रवर्धन समितिका संरक्षक एवं भीरकोट नगरपालिकाका पूर्व नगरप्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।
गौशालाले १ लिटरको गोअर्कको बोटल बनाएर प्रतिलिटर ४ सयमा बिक्री गर्ने तयारी गरेको खनालको भनाइ छ । उहाँले भन्नुभयो, “बिहानको समयमा सुर्याेदय हुनभन्दा अगाडि गहुत थापी आधुनिक हिटिङ प्लान्टमा पकाई त्यसबाट निस्किएको गहुत प्याक गरेर बिक्री गर्न थालेका हौँ ।”
अहिले गौशालामा २९ गाई रहेको खनालले बताउनुभयो । गौशाखाले गएको बर्ष मात्रै मल बेचेर ४० हजार आम्दानी गरेको थियो । गाईको गोबर मल व्यावसायिक खेती मात्र नभई थोरै बारीमा तरकारी खेती, कौशी खेती र फलफूल खेती गर्नेले पनि खोज्ने भएकाले अब किलोका हिसाबले बिक्री गर्ने योजना रहेको खनालको भनाइ छ । गाईको मललाई पनि विशेष तरिकाबाट प्याकिङ गरिने उहाँले बताउनुभयो ।
समितिका अनुसार गौशालामा रहेको गहुत प्रशोधन केन्द्रबाट दैनिक १० लिटरसम्म गोअर्क उत्पादन हुन्छ । प्रशोधित गहुत (गोअर्क) बिक्रीबाट भएको आम्दानी गाई व्यवस्थापनमा खर्च हुनेछ । गौशालामा रहेको गाईहरुबाट स्थानीयलाई समेत धेरै फाइदा भएको समितिका अध्यक्ष खुमकान्त खनालले बताउनुभयो ।
भीरकोट नगरपालिकाको १० लाख आर्थिक सहयोग र स्थानीयको ६ लाख गरी १६ लाखमा निर्माण भएकोे गौशाला गएको बर्षदेखि स्थानीय समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन खर्च समिति आफँैले बेहोर्ने गरेको छ ।