• १३ मंसिर २०८१, बिहिबार

दिपेश र लोकेन्द्रको सपना महाकालीमा बिलायो, परिवारमा बज्रपात

blog

दिपेसराज बिष्टको महाकाली नदी किनारमा शवयात्रा र अन्तेष्टी गरिदै । तस्बिर : लोकेन्द्र जोशी

लोकेन्द्र जोशी

दार्चुला, कात्तिक ६ गते । इजरायलमा मारिएका दार्चुलाको लेकम गाउँपालिका ५ टकना घर भइ कञ्चनपुर बस्दैआएका दिपेशराज बिष्ट र मालिकार्जुन गाउँपालिका ४ हुनैनाथका लोकेन्द्रसिंह धामीको सपना महाकाली नदीमा बिलाएको छ । 

हमास समुहको आक्रमणमा परी मारिएका दार्चुलाका दिपेश विष्ट र लोकेन्द्र धामीको सोमबार (आज) महाकाली नदीमा अन्त्येष्टी गरिएको छ । दिपेशको कञ्चनपुरस्थित महाकालीमा अन्त्येष्टी गरियो भने लोकेन्द्रको दार्चुला उकुस्थित महाकाली नदी किनारमा अन्त्येष्टी गरिएको छ । 

मृतक बिष्ट र धामीको सोमबार बिहान धार्मिक परम्पराअनुसार महाकाली नदीमा अन्त्येष्टि गरिएको पारिवारजनले बताएका छन् । दुबै जनाको इजरायलबाट आइतबार विहान मात्रै काठमाडौं शव ल्याइएको थियो । बेलुकी नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी शव ल्याइएको भए पनि बिष्टको आइतबार सेती अस्पतालमै शव राखिएको र सोमबार बिहानै भीमदत्त नगरपालिका–१५ निम्बुखेडास्थित कान्छा बाबु पुष्पराज विष्टको निवासबाट शव यात्रा निकालिएको थियो । 

धामीको भने मालिकार्जुन गाउँपालिकाले पठाएको शव वाहनमार्फत गाउँमै शव ल्याएर उकु चिहानमा अन्त्येष्टी गरिएको छ । बिएस्सी एजी अध्ययन गरेर स्वदेशमै रोजगारी गर्ने सपना बोकेका दीपेश र लोकेन्द्रको इजरायलमा मारिएको १६ औँ दिनमा महाकालीमा अन्त्येष्टि गरिएको छ । 

दुबै जनाको सपना महाकाली नदीमै अन्त्य भएको छ । गत २० असोजमा हमास समूहले इजरायलमा हमला गरेको थियो । सोही हमलामा परेर सुदूरपश्चिम विश्वविद्यालय टीकापुर कृषि क्याम्पसमा अध्ययनरत विष्ट र धामीसहितका १० विद्यार्थीको मृत्यु भएको थियो । 

हमास समूहको हमलामा परी मृत्युवरण गरेका सुदूरपश्चिम विश्वविद्यालय बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्न गर्न गएका सुदूरपश्चिमका सात विद्यार्थीले ज्यान गुमाएका छन् । एकजना विपिन जोशी अझै बेपत्ता रहेका छन् । 

२७ भदौँमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय टीकापुर क्याम्पसका ४९ जना विद्यार्थी त्यहाँ गएका थिए । मातृभूमि छाडेको महिना दिन नपुग्दै विद्यार्थी र परिवारजनका लागि अकल्पनीय घटना भएको थियो । 

मातृभूमि छाडेको महिना दिन नपुग्दै विद्यार्थी र परिवारजनका लागि अकल्पनीय घटना भएको थियो । 

लेकम गाउँपालिका –५ दार्चुलाका २४ वर्षीय दीपेशराज विष्टले बाल्यकालमै बाबु गुमाएपछि कञ्चनपुर महेन्द्रनगरमै बसेर अध्ययन गरेका थिए । आमा पार्वती विष्ट पहाडकै घर टकनामा बस्दै आउनुभएको थियो । दीपेशकी आमा लटिनाथ नमुना मावि रिठाचौपातामा शिक्षिका समेत हुनुहुन्छ । 

झण्डै दुई दशकपहिले ज्यान गुमाएका दीपेशराजका बाबु पनि मालिकार्जुन मावि धाप दार्चुलामा पूर्व शिक्षक थिए । बाबु गुमाएकाले उनको काँधमा अभिभावकत्वको पनि जिम्मेवारी थियो । भाइ वसन्तराज विष्टले छात्रवृत्तिमा धरान मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका छन् । 

मृतक दिपेश नर्सरीदेखि १० सम्म ग्लोबल एकेडेमीमा अध्ययन गरेर रेडियन्ट माविबाट आइएस्सी अध्ययन गरेर बिएस्सीएजी विषय अध्ययनका लागि टीकापुर गएका थिए । भीमदत्त नगरपालिका १५ निम्बुखेडास्थित कान्छाबाबु पुष्पराज विष्टको घरमा बस्दैआएका थिए । 

सानै उमेरमा बाबु गुमाएका दीपेशराज लगनशील एबं समझदार विद्यार्थी थिए । दिपेसका साथी नरेश जोशीकाअनुसार ‘पढ्ने क्रममै उसको (दिपेस) स्वदेशमै लोकसेवा लड्ने सोच थियो, ‘दीपेशराजलाई विदेशभन्दा पनि स्वदेशमै केही गरूँ भन्ने सोच थियो, विदेशी भूमिमा गएर आफैँ बिलायो । 

दीपेशराज गुमाएको पीडाले विष्ट परिवारमा सन्नाटा छाएको छ ।

परिवारकै आशा भरोसाको पात्रको मृत्युले परिवारमा यतिवेला बज्रपात परेको छ । दीपेशराज गुमाएको पीडाले विष्ट परिवारमा सन्नाटा छाएको छ । हुनैनाथका लोकेन्द्र पनि मेहनती विद्यार्थी थिए । लटिनाथ माबि चौपाताबाट आइएस्सीएजी गरेर बिएस्सी एजी विषय अध्ययनका लागि टीकापुर गएका धामी पनि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्न गर्न इजरायल गएका थिए । 

परिवारकै भरोसाका पात्र धामीको निधनले धामी परिवारमा बज्रपात परेको छ । अबोध छोराछोरी, कलिलै उमेरकी श्रीमती र परिवारजनमा सहिनसक्नुको पीडा परेको छ । परिवारका लागि मात्र हैन, समाजको लागि समेत योगदान गर्न सक्ने क्षमता भएका युवा विद्यार्थी धामी र बिष्टको मृत्युले ठूलो क्षति पुगेको उनका आफन्त र शुभचिन्तकले बताएका छन् ।