• ११ असोज २०८१, शुक्रबार

राँगो मार हान्न तीन लाख ३० हजारको बोलकबोल

blog

कालरात्रिका दिन मार हान्ने राँगोको बढीबढाउमा राखुभगवती कोत मन्दिरमा भेला भएका सर्वसाधारणहरु । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, कात्तिक ६ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका –२ राखु भगवती कोत मन्दिरमा विजयादशमीको महानवमीका दिनमा बलि चढाइने सरकारी राँगो मार हान्न (काट्न) तीन लाख ३० हजार रुपियाँको बोलकबोल भएको छ । 

बडादसैंको आठौं दिन कालरात्रिमा खुला बढीबढाउ गरी राँगोको मार हान्ने व्यक्तिको छिनोफानो गरिएको हो । एक घण्टाको समयसीमामा सुरु भएको बढीबढाउमा  पाँच जनाबीच भएको प्रतिस्पर्धामा रघुगङ्गा गाउँपालिका –२, सिजलगाउँका एकेन्द्र भण्डारीले सबैभन्दा धेरै तीन लाख ३० हजार रुपियाँ रकम तिर्ने बोलकबोल गरेर सरकारी बलिको मार हान्ने हुनुभएको छ । 

भण्डारीले आइतबार नै कबोल गरेको रकम पूजा व्यवस्थापन समितिलाई उपलब्ध गराइसक्नुभएको छ । पूजा व्यवस्थापन समितिले सरकारी राँगाको बढीबढाउको सुरुवाती मूल्य ६७ हजार रुपियाँ कायम गरेको थियो । 

यसअघि २०७९ सालमा ३ लाख १५ हजार, २०७८ सालमा ३ लाख, २०७६ सालमा २ लाख ८० हजार रुपियाँको बोलकबोल भएको थियो । महानवमीको दिन बलि दिइने राँगो मार हान्ने व्यक्तिको मनोकांंक्षा पूरा हुने जनविश्वासका कारण आकांक्षीहरु धेरै हुने भएकाले खुला बढीबढाउमार्फत छनाेट गरिएको भगवती कोत मन्दिर पूजा व्यवस्थापन समितिका सचिव कृष्णबहादुर शाहीले जानकारी दिनुभयो । 

कोत मन्दिरमा सरकारी मार हानेपछि पूजा व्यवस्थापन समिति, आफन्तजन र गाउँलेहरुले मार हान्ने व्यक्तिको टाउकोमा फेटा गुथाएर बाजागाजासहित गाउँ घुमाउँदै सम्मान गर्ने प्रचलन छ । राँगोको मार हान्न हुने बोलकबोल नेपालकै सबैभन्दा धेरै रहेको दावी गरिएको छ । 

यो क्षेत्रकै एतिहासिक कोत मन्दिर रहेको र यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास छ । आफूले चाहेको पूरा गराउन यहाँ मार हान्नका लागि भाकल गर्ने गरिन्छ । आँटेको र चाहेको पूरा हुने भएपछि हरेक वर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दैगएको पूजा व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष थानबहादुर भण्डारीले बताउनुभयो । 

 बाइसे चौबीसे राज्यका पालामा १७ औँ शताब्दीमा भगवती मन्दिर निर्माण भएको थियो । भगवती कोत म्याग्दीका पुरानो र ऐतिहासिक कोतको सूचीमा पर्छ । चैते र बडादसैँको अवसरमा विशेष पूजा हुने भगवती कोतमा अन्य समयमा दैनिक नृत्यपूजा हुन्छ । भगवती कोत शक्तिपीठ हो । दसैँको पूजामा यहाँ बलि चढाउने चलन अझै जीवित छ ।

तत्कालीन राखु भगवती र राखु पिप्लेकोे साझा कोतका रूपमा चिनिदै आएको यस मन्दिरको इतिहास नेपाल एकीकरण हुनुअघिको तत्कालीन विभिन्न भुरेटाकुरे राजा तथा १४ औँ देखि १७ औँ शताब्दीका बाइसे चौबिसे राज्यका राजासँग जोडिएको इतिहास छ ।