• १९ असार २०८१, बुधबार

ढुक्क भएर चाडपर्व मनाउन प्रशासनको आग्रह

blog

रमेश विश्वकर्मा

गुल्मी, कात्तिक ५ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीद्वारा जारी शुभकामना सन्देशमा चाडपर्वलाई सुरक्षित र मर्यादित रुपमा मनाउन स्थानीय प्रशासनले भरपर्दो सुरक्षा व्यवस्था मिलाएको हुँदा ढुक्क भएर खुशी र हर्षोल्लासका साथ चाडपर्व मनाउन आग्रह गरिएको हो ।

चाडपर्वमा समाजमा शान्ति, सुरक्षा तथा सद्भाव कायम गर्नका लागि सबैको सकारात्मक सहयोग र समन्वय भूमिकाको अपेक्षा गरिएको जारी सूचनामा उल्लेख छ । जिल्लास्थित सम्पूर्ण कार्यालय संघ संस्थाका प्रमुखहरुले कार्यालयको सुरक्षाका लागि पालो पहराको उचित प्रबन्ध मिलाउन आग्रह गरिएको छ ।

सरकारी सवारी साधनहरुको प्रयोग सरकारी कामकाजमा मात्र गर्न सूचनामा उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले चाडपर्वमा हुने कालोबजारी र म्याद गएका सामग्री बिक्री वितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीब्र पारिएको छ ।