बोमलाल गिरी
नवलपुर, कात्तिक ४ गते । नवलपुरमा ट्राफिक प्रहरीले चेकजाँचलाई तीव्र पारेको छ । दसैँ, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी प्रहरीले चेकजाँचलाई तीव्रता दिएको हो । ‘सुरक्षित सडक यात्रा र सवारी, हामी सबैको जिम्मेवारी, सवारी दुर्घटना न्यूनीकरणका लागि गाउँ गाउँमा ट्राफिक प्रहरी’ भन्ने मूल नाकाका साथ प्रहरीले अभियानलाई तीव्रता दिएको जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक अच्युतराज आचार्यका अनुसार ग्रामीण क्षेत्रलाई विशेष लक्षित गरी सचेतनामूलक कार्यक्रम गरिइरहेको छ । सवारी चालक, यात्रु र सर्वसाधारणमा कार्यक्रम केन्द्रित छ । जिल्लाको मुण्डेदेखि डेढगाउँ जाने बाटो र गैँडाकोटदेखि बुलिङटार जाने बाटोमा चुनौती देखिएकाले ग्रामीण क्षेत्रलाई बढी केन्द्रित गरिएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।
चाडपर्वको समयमा यात्रुको चाप बढी हुने, छतमा झुन्डिएर यात्रा गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधना चलाउने काम भइरहेकोले त्यसलाई कडाइका साथ चेकजाँच गर्ने काम गरिएको उहाँको भनाइ छ । विगत पाँच दिनमा मात्र सवारी नियम उल्लङ्घन गर्ने, बढी भाडा निले, छतमा यात्रु राख्ने, झुन्डिएर यात्रा गर्ने, मोटरसाइकलमा तीन जना चढ्ने, विना हेलमेट हिँड्ने दुई सय ९८ सवारी साधना कारबाहीमा परेका छन् ।
त्यस्तै, विगत पाँच दिनमा मादक पदार्थ सेवन गरेर सवारी साधना चलाउने ८७ जनालाई पनि कारबाही गरिएको प्रहरी निरीक्षक आचार्यले जानकारी दिनुभयो । पहिलो पटक मापसे गरी सवारी साधन चलाउनेलाई एक हजार रुपियाँ र दोस्रो पटक कारबाहीमा पर्नेलाई दुई हजार रुपियाँ जरिवाना गर्ने गरिएको छ । यसले राजश्वक सङ्कलन पनि बढेको प्रहरीको भनाइ छ ।
चाडवार्डमा यात्रुहरूको पिर, मर्का र गुनासालाई तत्काल सम्बोधन गर्नका लागि भन्दै जिल्लाका पाँच स्थान गैँडाकोट, दलदले, कावासोती फलफूलचोक, डण्डा र दुम्कीवासमा यात्रु सहायता कक्ष राखेर काम गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा सडक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा १९ जनाले ज्यान गुमाएका थिए ।