• १५ मंसिर २०८१, शनिबार

तन्नेरी नहुँदा गाउँमा छैन दसैँको रौनक

blog

गलेश्वर (म्याग्दी), कात्तिक ४ गते । उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल। पूर्वतर्फ बागलुङको पञ्चकोट। हेर्दाखेरी निकै सुन्दर र मनमोहक लाग्छ– ज्यामरुककोट। खेतका फाँटमा पहेँलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन्, उमेरले ५० काटेका पाका गाउँले पनि ।

केही वर्ष अघिसम्म म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुन्डे, सानालेख, गौश्वारा र फापरखेतमा सोह्रश्राद्ध नसकिँदै लिङ्गेपिङ हालेर युवा दसैँको तयारी गरिसक्थे । अहिले दसैँको छैटौँ दिन बितिसक्दा पनि गाउँमा न कतै लिङ्गेपिङ, न त युवा नै देखिएका छन् । विद्यालय उमेरका बालबालिका र ५० नाघेका पाका नागरिक आआफ्नो काममा व्यस्त छन् । दसैँको रौनकले गाउँलाई छोएको छैन ।

पाँच सात वर्ष अघिसम्म तीजसँगै दसैँको रौनक सुरु हुन्थ्यो। सोह्रश्राद्ध सकिनेबित्तिकै रातो माटो र सेतो कमेरोले घर लिपपोत गर्ने, चिउरा कुट्ने, अचार राख्ने, घर सफा गर्ने र गोरेटो बाटो सफा गर्ने काममा युवा नै कस्सिन्थे । पछिल्ला केही वर्षयता ज्यामरुककोटमा मात्रै होइन, म्याग्दीमै युवाहरू वैदेशिक रोजगारी र परिवार बसाइँसराइ गरी सहरतिर बस्न थालेपछि गाउँघरमा चाडपर्वको रौनक हराउँदै गएको बेनी नगरपालिका–२ का ६८ वर्षीय डिलबहादुर सापकोटाले बताउनुभयो ।

बेनी–२ ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार गाउँबाट पछिल्लो चार वर्षयता वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने युवा बर्सेनि बढ्दै गएपछि गाउँ युवाविहीन भएको छ । 

एक वर्षमा सरदर ५० देखि ८० जनासम्म  युवा वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन्। अध्ययनका लागि जानेको सङ्ख्या पनि उत्तिकै छ। त्यसका साथै बसाइँसराइ गरेर सहर र मधेशतिर जाने पनि बाक्लै छन् । पछिल्लो डेढ वर्षमा २४ घरपरिवारले बसाइँसराइ गरेका छन् ।

पहारिलो घाम लाग्न सुरु भएपछि खेतका फाँटमा धान थन्क्याउने काममा किसान व्यस्त छन्। असोजको अन्तिम साता परेको पानी र चलेको हावाहुरीबाट थन्क्याउने बेलाको धान नासिने पो हो कि भनेर चिन्तित बनेका किसान कात्तिक लागेपछि मौसम घमाइलो बन्दा खेतको फाँटमा व्यस्त हुन थालेका र दसैँको रमाइलोले भन्दा पनि धान भित्र्याउने चटारोले किसान बेफुर्सदिला बनेका सानालेखका नारायण शर्माले बताउनुभयो ।

कामकाज, उच्च शिक्षा र वैदेशिक रोजगारीका लागि बाहिर रहेकाहरू गाउँ फर्किन थालेका भए पनि कामको चटारोले गर्दा दसैँको रौनक नदेखिएको उहाँको भनाइ छ । घरमा कमेरो र रातो माटोले लिपपोत गर्न घरभित्र धुवाँ लगाएर राखेका मकैका झुत्ता थाङ्नेमा राखेर लिपपोत गर्दै गर्दा दसँै आएको छुट्टै आनन्द हुन्थ्यो । दसैँका लागि भनेर खेतको कान्लामा घाँस साँच्ने गरिन्थ्यो ।

गाउँघरका युवादेखि बूढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको चार लिङ्गो गाडेर पिङ बनाउने गाउँमा हराउँदै गएको छ । अहिले रोजगारीका सिलसिलामा गाउँबाट बाहिर देश जान थालेसँगै दसैँमा रौनक थप्ने लिङ्गेपिङ खेल्ने संस्कृति हराउँदै गएको हो । “विशेष गरी युवा पुस्ताले लिङ्गेपिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिले गाउँमा युवा छैनन्, पाका पुस्तालाई फुर्सद पनि छैन, जाँगर पनि चल्दैन,” ५२ वर्षीय टेकबहादुर क्षेत्रीले भन्नुभयो ।

पछिल्लो समय प्रविधिको विकाससँगै गाउँघरमा समेत मनोरञ्जनका अन्य साधन प्रशस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको बूढापाकाहरू बताउँछन्। रोजगारीका लागि युवा विदेश गएका छन् । युवाहरू बिदेसिएका कारण पिङ बनाउने जनशक्ति अभावसमेत बढ्दै गएको छ । पिङ बनाउनका लागि बाबियो काटेर ल्याउने, लुठो बाट्ने र चार वटा बाँस गाड्न कम्तीमा आठ, दस जना आवश्यक पर्छ । गाउँघरमा फाटफुट भएका युवा पनि व्यवसाय र रोजगारीमा हुनुले पनि लिङ्गेपिङ लोप हुँदै गएको फापरखेतका इन्द्रदत्त शर्माले बताउनुभयो ।

फेरिँदै छ ग्रामीण परिवेश

युवा पलायन, प्रविधिको विकास र बसाइँसराइका कारण चाडपर्वको मौलिकता तथा परम्परागत ग्रामीण परिवेशमा पनि परिवर्तन आएको छ। रातो माटो र कमेरोले पोतिएका घर गाउँमा देखिन छाडेका छन् । इनामेल र आयातीत रङले घर रङ्गीन थालेपछि गाउँका मड्किना गृहिणीले बिर्सिसकेका छन् । ढिकीमा चिउरा कुट्ने परम्परा हराएर गएको छ। सबै चीज बजार आश्रित भएको छ। नयाँ लुगा लगाउन दसैँ पर्खनु पर्दैन। 

दसैँ नयाँ लुगा लगाउने र मासु खाने पर्वका रूपमा चिनिए पनि यी दुवै चीजको सहजताले दसैँको रौनक हटेको छ। अहिले घर रातो माटो र कमेरोले पोतिँदैनन्। मौलिक शैलीका घरलाई सिमेन्टबाट बनेका आधुनिक घरले विस्थापित गरिसकेका छन् । सहरदेखि गाउँसम्म आधुनिक घर बनाइएका छन् ।