• १२ साउन २०८१, शनिबार

‘गजल यात्रा–४’ प्रकाशित

blog

गजल मञ्च मकवानपुरले प्रकाशन गरेको गजल यात्राको चौथो संस्करणको शुक्रबार हेटौँडामा विमोचन । तस्बिर : अनिल पराजुली

अनिल पराजुली
हेटौँडा, कात्तिक ३ गते । 
नेपाली गजलहरुको सँगालो गजल यात्रा प्रकाशन भएको छ । गजल मञ्च मकवानपुरले प्रकाशन गरेको गजल यात्राको चौथो संस्करणको शुक्रबार हेटौँडामा विमोचन गरिएको हो ।

गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पण, हेटौँडा–४ नम्बर वडाका अध्यक्ष नविन सिग्देललगायतले संयुक्त रुपमा गजल यात्रा–४ को विमोचन गर्नुभएको थियो । गजल यात्राको नयाँ शृङ्खलामा मकवानपुरसहित अन्य जिल्लाका गजलकारहरुको ५७ वटा गजल समेटिएको छ । संस्थागत गतिविधिको दस्ताबेजीकरण गर्ने तथा नेपाली गजल क्षेत्रको उन्नयनका लागि गजल मञ्चले गजलहरुको सँगालो प्रकाशन गर्दै आएको छ ।

पूर्वअध्यक्ष दीपक गौतम नेतृत्वमा २०६६ र २०६८ मा गजल यात्रा–१ र २ प्रकाशन भएको थियो भने २०७८ मा देवराज तिवारी नेतृत्वको कार्यसमितिले गजल यात्रा ३ प्रकाशन गरिसकेको छ । २०६१ सालमा स्थापित गजल मञ्च मकवानपुरलेस्थापनायता नियमित रुपमा हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्राको आयोजना गर्दै आइएको छ । हालसम्म गजल यात्राको २०७ वटा शृङ्खला सम्पन्न भइसकेका छन् ।

गजल यात्रा–४ मा नेपाली गजलकारहरुका गजलका साथै मकवानपुरको गजल इतिहासलाईसमेत समेटिएको मञ्चका अध्यक्ष केशव समर्पणले जानकारी दिनुभयो । गजल यात्रा–४ ले मकवानपुरे गजल इतिहासमा अर्को एउटा इट्टा थपिने उहाँले विश्वास व्यक्त गर्नुभयो । गजल मञ्चले पछिल्लो समय गजलमा नयाँ पुस्ता तयार गर्नका लागि विद्यालयहरुमा नवसर्जक केन्द्रित शृङ्खलाहरु पनि सञ्चालन गरिरहेको छ ।