• ११ मंसिर २०८१, मङ्गलबार

आस्थाकी देवी ‘पलाञ्चोक भगवती’

blog

पलाञ्चोक भगवतीको मन्दिर ।

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, कात्तिक ३ गते । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ स्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ । 

पलाञ्चोक भगवतीको मन्दिर आजभन्दा करिब एक हजार ६५५ वर्ष पहिले अर्थात् इस्वीसंवत् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई भगवतीको जेठी दिदिको रुपमा समेत चिनिनेगरेको छ । जिल्लाको बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भ आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंवदन्ती छ । 

भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजाने कोसिस गर्दा मूर्ति त्यहीँ रही बोक्न नसकेपछि स्थानीय ६० घरधुरीले मद्दत गर्दासमेत भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा भगवतीको मूर्ति राखी पूजाआजा गर्दैआएको किंबदन्ती रहेको मन्दिरका पुजारी शैलेश्वर बज्राचार्यले जानकारी दिनुभयो । 

तत्कालीन समयमा ६० घरधुरीले भगवतीको मूर्ति बोक्न सहयोग गरेकाले उक्त स्थानको नाम साठीघर भगवती भएको पाइन्छ । इस्वीसंवत् ४२५ को समयमा कालिगढले दाहिने हातले निर्माण गरेको पलाञ्चोक भगवती, नाला भगवती, देब्रे हातले बनाएको नक्साल भगवती र गोडाले शोभा भगवतीको मूर्ति कुँदिएको किंवदन्ती छ । 

भगवतीका मूर्तिमध्ये सबैभन्दा पुरानो र दाहिने हातबाट निर्माण गरिएको भगवतीको मन्दिर भएकाले पनि अन्य भगवतीमध्ये पलाञ्चोक भगवती बढी चर्चित र गन्तव्यस्थानको रुपमा रहेको पाइन्छ । 

तत्कालीन समयमा भगवतीको मन्दिर निर्माण भएपछि मन्दिरको मौलिक पूुरी को बन्ने ? सवाल उठेपछि काठमाडौंको मखनटोलका बज्राचार्यबाट दैनिक नित्यपूजा, गुठीपूजा गर्ने अनुमति पाएपछि हालसम्म पनि काठमाडौं मखन टोलका बज्राचार्यले नै पूजा गर्दै आएको पाइन्छ । 

पलाञ्चोक भगवतीमा अहिलेसम्म काठमाडौ मखनटोलका बज्राचार्यको करिब आठ–नौ पुस्ता पुजारी रहेको मन्दिरका पुजारी बज्राचार्यले बताउनुभयो । वि.सं. १९९० सालको भूकम्पले मन्दिर वरपरका घरहरु सबै भत्किए पनि मन्दिरमा त्यस्तो ठूलो खासै क्षति नपुगेको र सो भूकम्पबाट भगवतीको शिर थोरै पश्चिमतिर ढल्केको छ । 

“पलाञ्चोक भगवतीको दर्शन गर्नाले मनले चिताएको पूरा भएको भन्दै नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउनेगरेका छन्” पुजारी बज्राचार्यले थप्नुभयो । उहाँले दसैँको अवसरमा केही दिनदेखि मन्दिरमा दर्शनार्थीको चाप बढेको बताउनुभयो । 

देशमा कुनै विपत्ति तथा सङ्कट आउन लाग्यो भने भगवतीको मूर्तिमा विभिन्न सङ्केत देखिनुको साथै मूर्तिमा पसिना आउने गरेको मन्दिरका पुजारी बज्राचार्यले बताउनुभयो । 

पलाञ्चोक भगवती स्थानमा दर्शनका लागि दर्शनार्थीको भिड लाग्ने गरे पनि विशेषरुपमा बडादसैँमा नवरात्रिको समय मन्दिरमा हाँस, बोका, राँगा आदिको बलि दिने चलन छ । दसैंबाहेक मन्दिरमा वैशाखपूर्णिमा माघे सङ्क्रान्ति, जेठकाे पूर्णिमालगायतका चाडमा मेला लाग्छ । वैशाख पूर्णिमा र बडादसैंमा एकादशीको दिन रथ बनाई मन्दिर घुमाउने चलन छ । 

पृथ्वीनारायणको एकीकरणको समयपछि मन्दिर, पुजारी, गुठीयार, दमाहरुको व्यवस्था भएको किंवदन्ती छ । एकीकरणपछि पुजारीले दैनिक नित्यपूजा गर्ने, पहरीले रथ बोक्नुका साथै दैनिक नित्यपूजाका लागि फूल ल्याउने, कसाले काटमार गर्ने, कुस्लेले पूजाको समयमा बाजा बजाउनेजस्ता कामको बाँडफाँड भएको छ ।

पलाञ्चोक भगवतीको नाममा तत्कालीन बालुवा, दोलालघाट, पाँचखाल, होक्सेलगायतका गाविसमा करिब अठार सय रोपनी जग्गा मोहीहरुले कमाउँदै आएका छन् ।