• ११ मंसिर २०८१, मङ्गलबार

हराउन थाले दसैंका परम्परागत पिङ

blog

नरहरीनाथ गाउँपालीका –९ लालुमा निर्माण गरिएको पिङ । तस्विर : रमेशकुमार वोगटी

रमेशकुमार बाेगटी

कालीकोट, कात्तिक ३ गते । नेपालीको पर्व दसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । आइतबार घटस्थापना सँगै यस वर्षको दसैँ घर–घरमा प्रवेश गरेको छ । कतिपय देवीदेवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । 

मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यक पर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ । तर बजार र गाउँघरको चहलपहल भने निकै फरक छ । रोजगारीको सिलसिलामा विदेश गएका होस् या काम विशेषले सहर छिरेकाहरु होस् यतिबेला मान्यजनको हातबाट दसैंको टीका थाप्न धमाधम जन्म घर फर्किरहेका छन् । 

पाँच वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया बसेर फर्किनुभएका नरहरिनाथ गाउँपालिका ५ का टेकबहादुर सहकारीले वषौं वर्ष छुट्टिएका साथी भेट्दा रमाइलो हुने भए पनि तर चाडपर्वसँगै जोडिएका परम्परा, संस्कृतिको मौलिकतासँग जोडिएका परम्परागत कार्यको समेतको जगेर्ना नहुँदा पहिलेभन्दा यो दसैं खल्लो लागेको बताउनुभयो । 

रास्कोट नगरपालिका –३ गोकर्ण सञ्यालले भन्नुभयो, ‘सहरबजारमा त केही वर्ष पहिले नै पिङ हराउँदै गएका थिए, अब गाउँघरमा समेत हराउन थाले, यसले दशैंको उमङ्ग पनि घट्दै गएको छ’ पिङ राख्ने भनेपछि टोल छरछिमेक सबै जम्मा हुने गर्थौँ, वर्षौसम्म पनि भेट नभएका साथी दसैंमा पिङ खेल्ने ठाउँमा जम्मा हुने बहाना बन्थ्यो, बालबालिकाको उत्साह पनि उस्तै हुन्थ्यो, पिङ मात्रै हराएन, पिङसँगै दसैँको रमाइलो पनि हराएजस्तो लाग्न थाल्यो ।’

बजारक्षेत्रमा सार्वजनिक स्थानको कमी, मनोरञ्जनका विभिन्न विकल्प, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैंमा पिङ राख्ने विषय हराउँदैगएको छ । पहिले टोल–टोलमा राखिने पिङ अहिले सिङ्गो गाउँमा भेट्न मुस्किल हुनेगरेकोे छ । 

पहाडी क्षेत्रसँगै गाउँघरमा पहिले पहिले रोटेपिङ राख्ने गरेकोमा यो भने  हराउँदै गएको छ । पचालझरना गाउँपालीका –१ का ९० बर्षिया वृद्ध सुजन रोकायाले ले भन्नुभयो “पहिले दसैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, बजारमा पाउने लठ्ठा नभए, बाबियो काटी डोरी बाट्ने चटारो हुन्थ्यो, अहिले सबै नौलोजस्तो बनेको छ, गाउँघरमा पिङ राख्ने चलन घट्दै गएको छ ।”

फाट्टफुट्ट रूपमा कहीँ कतै पिङ राख्ने गरेको भए पनि पहिलेभन्दा निक्कै कम भएको छ । लिङ्गेपिङलाई चार दिशामा बाँस गाडेर, बाबियाबाट निर्मित लठारो प्रयोगगरी तयार गरिन्थ्यो र शिरमा सयपत्री, लालुपातेजस्ता फूलहरू राखेर सिँगार्दा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिन्थ्यो । बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसले पिङ खेल्ने चलन भए पनि युवा पिङ खेल्नमा बढी नै उत्साही हुन्थे । तर बढ्दो प्रविधिले परम्परागत मौलिकता हराउन थालेका छन् ।

पछिल्लो समय, सामाजिक सञ्जालमा रमाउने जमात बढ्दा दसैँमा पिङ राख्ने विषय हराउँदै जाँदा नेपाली पर्वको महत्व पनि विस्तारै हराउँदै जान थालेको छ । अझै गाउँघरमा दसैँको टीकाको दिन एक पटक भए पनि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने जनविश्वास रहिआएको छ । 

मान्छे टिभी, युटुब, फेसबुक र टिकटकमा रमाउन थालेका छन् । नरहरिनाथ गाउँपालिका वडा ९ का अध्यक्ष प्रदीप बोहोराले दसैं र तिहारजस्ता चाडमा राखिने पिङसँगै मौलिक परम्परा हराउने हो कि भन्ने चिन्ता लागेको वताउनुभयो ।