• ६ जेठ २०८१, आइतबार

मुख्यमन्त्रीसामु समस्या लिएर बालबालिका

blog

सुर्खेत समाचारदाता

सुर्खेत, कात्तिक ३ गते । मुख्यमन्त्री राजकुमार शर्मासमक्ष कर्णाली प्रदेशका बालबालिकाले विद्यालयमा आफूले भोगेका समस्या प्रस्तुत गरेका छन् । बालबालिकाले विद्यालयको भौतिक अवस्था जीर्ण भएको, पाठ्यपुस्तकको अभाव रहेको, ६ कक्षाभन्दा माथिका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था, महिनावारी हुँदा छुट्टै कोठाको अभाव, अपाङ्गतामैत्री भवन नभएको, पुस्तकालय तथा प्रयोगशाला नभएको समस्या चिठीमा प्रस्तुत गरेका थिए । 

शिक्षा पत्रकार समूह कर्णाली प्रदेशले आयोजना गरेको मुख्यमन्त्रीलाई बालबालिकाको चिठी हस्तान्तरण एवं कर्णालीका विद्यालय शिक्षाको अवस्था विषयक कार्यक्रममा प्रतिनिधिमूलक रूपमा आएका अस्मिता खड्का, जयन्ता खत्री र जीवन रावतले मुख्यमन्त्री शर्मालाई चिठी बुझाएका हुन् । गुराँस गाउँपालिका दैलेखमा कक्षा ८ मा अध्ययनरत अस्मिता खड्काले दुर्गमका सामुदायिक विद्यालयको अवस्था नाजुक भएको बताउनुभयो । 

उहाँले सबै स्थानीय तहमा बालकोष, बाल हेल्पलाइनको स्थापना गर्न माग गर्दै बालबालिकाको समस्यालाई गम्भीर रूपमा लिएर समाधान गर्न आग्रह गर्नुभयो । जाजरकोटकी जयन्ता खत्रीले सङ्घ, प्रदेश र स्थानीय सरकारले शिक्षामा लगानी बढाउनु अपिल गर्नुभयो । मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा क्षेत्रमा कर्णालीको आवश्यकता अनुसार बजेट कम नै भएको स्वीकार गर्नुभयो । उहाँले ठुलो भूगोल, भौगोलिक विकटता, पर्याप्त बजेटको अभाव जस्ता कारणले शिक्षामा बजेट अपर्याप्त भएको बताउनुभयो । 

उहाँले सामुदायिक विद्यालयको शैक्षिक स्तरमा गुणस्तर ल्याउने आफूहरूको उद्देश्य रहेको र त्यसका लागि प्रदेश सरकारले कर्णालीका १० जिल्लाबाट एक/एक वटा विद्यालय छनोट गरी शिक्षण सिकाइ केन्द्र स्थापना गर्ने तयारी रहेको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारको क्षमता र आवश्यकता अनुसार क्रमशः पूरा गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

शिक्षा पत्रकार समूहका प्रदेश संयोजक कलेन्द्र सेजुवालका अनुसार कर्णालीका १० जिल्लाका ५८ स्थानीय तहका ३१२ जना बालबालिकाले चिठी पठाएका थिए । कर्णालीका बालबालिकाको शिक्षाको अधिकार उपभोगबारे अवस्था बुझ्न, विद्यालयमा भोग्नु परेका समस्या र चुनौतीको पहिचान गर्न, भोग्नु परेका गुनासोलाई सुझावमार्फत प्रदेश सरकारलाई पु¥याउन र प्रदेश सरकारलाई बालमैत्री र बाल अधिकार संरक्षण तथा प्रवर्धन गर्नका लागि ठोस नीति र कार्यक्रम ल्याउन बालबालिकाबाट चिठी सङ्कलन गरिएको जनाइएको छ ।

चिठीमा भौतिक संरचना, शिक्षक र पुस्तक अभाव, मैत्रीपूर्ण संरचना र व्यवहार, विद्यालय स्वास्थ्य तथा पोषण, २१ औँ शताब्दीको माग, शिक्षण सिकाइ र अन्य सरोकारका विषयबारे विश्लेषण गरिएको थियो । सेभ द चिल्ड्रेनका सल्लाहकार आत्माराम भट्टराई कर्णालीको शैक्षिक अवस्थामा सुधार ल्याउने सबै सरकारसहित सरोकारवाला पक्षको योगदान हुनुपर्ने सुझाव दिनुभएको थियो ।