• ११ मंसिर २०८१, मङ्गलबार

लुम्बिनी प्रदेशका शक्तिपीठ

शक्तिपीठहरूमा दसैँको रौनक

blog

लुम्बिनी समाचारदाता

लुम्बिनी, कात्तिक ३ गते । दसैँ सुरु भएसँगै लुम्बिनी प्रदेशबाट विभिन्न कारण बाहिरिएकाहरू धमाधम घर फर्कन थालेपछि यहाँका गाउँघर र सहर बजारमा रौनक थपिन थालेको छ । साथै स्थानीय शक्तिपीठमा पनि भिड बढ्न थालेको छ ।  

अम्बिकेश्वरी मन्दिर 

घोराही समाचारदाताका अनुसार दाङको प्रसिद्ध धार्मिक एवं ऐतिहासिक स्थल अम्बिकेश्वरी मन्दिरमा विशेष पूजापाठसँगै पशु बलि दिने गरिन्छ । घोराही उपमहानगरपालिका–१८ अम्बापुरमा रहेको अम्बिकेश्वरी मन्दिरमा ब्राह्मण वरनी गरी नौ दिनसम्म दुर्गा सप्तसती र चण्डी पाठ गरिन्छ । दसैँका अवसरमा मन्दिरमा पञ्च बलि दिने परम्परा छ । घोराही बजारबाट करिब १.५ किलोमिटर पूर्वमा पर्छ ।

अम्बिकेश्वरी मन्दिर संरक्षण तथा संवर्धन समितिका अध्यक्ष कुमुद पोख्रेल भन्नुहुन्छ, “शुद्ध मनले देवीको दर्शन गर्दा मनोकामना पूरा हुने जनविश्वास रहेकाले मनोकामना पूरा भएकाहरूले दसैँमा भाकल अनुसार बलि दिने गरेका छन् ।” यहाँ दाङसँगै छिमेकी जिल्ला रोल्पा, प्युठानलगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेका छन् । योसँगै दाङकै कालिका मालिका मन्दिर छिल्लीकोटमा पनि पूजापाठ हुने गर्दछ । तुलसीपुर उपमहानगरपालिका–१९ को छिल्लीकोटमा रहेको प्रसिद्ध धार्मिक एवं ऐतिहासिक मन्दिरमा नवमीका दिन विशेष पूजा हुने गरेको स्थानीय बताउँछन् । 

भैरवस्थान मन्दिर

तानसेन समाचारदाताका अनुसार पाल्पाको रिब्दीकोट–४ मा रहेको भैरवस्थान मन्दिर नेपालकै प्रसिद्ध मन्दिरमध्ये एक हो । विसं १४६५ मा पाल्पाका राजा मुकुन्द सेनले निर्माण गर्नुभएको यो ऐतिहासिक मन्दिरमा नवरात्रभर हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गर्छन् । सदरमुकाम तानसेनदेखि नौ किलोमिटर पश्चिमतर्फ लागेपछि भैरवस्थान मन्दिरमा पुग्न सकिन्छ । भैरवस्थान मन्दिरलाई जिल्लाभित्रको प्रमुख शक्तिपीठको रूपमा रहेकाले अन्य समयमा रोटी चढाउने गरे पनि दसैँमा भने अधिक मात्रामा बलि चढाइने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेल बताउनुहुन्छ ।

इतिहासविद् निर्मल श्रेष्ठका अनुसार यहाँको काल भैरवलाई अत्यन्तै शक्तिशाली मानिन्छ । दसैँको अवधिभर यहाँ पाँच लाखभन्दा बढीले दर्शन गर्ने स्थानीय बासिन्दा नवराज ज्ञवालीले बताउनुभयो । जिल्लाकै व्यवस्थित रूपमा सञ्चालन भएको मन्दिरमा वार्षिक ५० लाख रुपियाँभन्दा बढी भेटी सङ्कलन हुने गरेको छ । 

छिल्लीकोट

तुलसीपुर समाचारदाताका अनुसार धार्मिक एवं पर्यटकीयस्थल छिल्लीकोटमा रहेको कालिका मालिका मन्दिरमा दर्शनार्थीको भिड लाग्न थालेको छ । तुलसीपुर उपमहानगरपालिका–१९, छिल्लीकोटमा घटस्थापनापछि दैनिक दुई सयभन्दा बढी भक्तजन पूजाआजा गर्नका लागि आउने गरेको कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले बताउनुभयो ।  छिल्लीकोटसम्म सडक पुगेसँगै आवतजावत गर्नका लागि सहज भएको छ । 

मन्दिरमा नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका प्राध्यापक तथा  छिल्लीकोटको इतिहाससम्बन्धी जानकार श्रीधर शर्मा मजगैयाका अनुसार श्रीस्वास्थानी व्रतकथामा महादेवले सती देवीलाई पृथ्वी परिक्रममा गराउने क्रममा छिल्लीकोटमा दाहिने कुम पतन भएको किंवदन्ती रहेको छ । दाहिने कुम पतन भएपछि त्यहाँको दुर्गन्धित वातावरणलाई बास्नामय बनाउनका लागि मालागेडी रुख उत्पत्ति भएको मान्यता छ । त्यस क्षेत्रमा मालागेडी अर्थात् सुगन्ध कोकिलाको जङ्गल नै रहेको छ । सुगन्ध कोकिलामा असोज कात्तिक महिनामा पाक्ने गर्दछ । मजगैयाका अनुसार मालागेडीको फल र काठ पवित्र मानिँदै पूजाआजामा समेत प्रयोग  गरिन्छ । 

अर्घाभगवती 

सन्धिखर्क समाचारदाताका अनुसार अर्घाखाँचीको अर्घाभगवती मन्दिरमा पनि भक्तजनको घुइँचो लागेको छ । यहाँ घटस्थापनादेखि पूर्णिमासम्म बिहान र साँझ वैधिक विधि अनुसार पूजा गरिने मन्दिरका पुजारी प्रकाश भुसालले बताउनुभयो । पूर्णिमाको दिन  सराय नाचसहितको सांस्कृतिक कार्यक्रम र मेला लाग्ने गर्दछ ।

मन्दिरमा राँगा, बोका, कुखुराका भाले, भेडा, परेवा र कुभिन्डोको बलि दिइन्छ । हाल दैनिक दुईदेखि तीन सय जना भक्तजन पुर्जा गर्न आएका छन् । स्थानीय मात्र नभई यस मन्दिरमा गुल्मी, पाल्पा, प्युठान र कपिलवस्तुबाट पनि भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सरोज भुसालले जानकारी दिनुभयो । 

मन्दिर सन्धिखर्क नगरपालिका–९ को अर्घा पहाडको थुम्कोमा रहेको छ । बाइसे चौबिसे राज्यकालको समयमा राजकाज चलाउने स्थानका रूपमा रहेको अर्घाभगवती मन्दिर परिसरमा पुराना दरबार र पौवाहरू पनि रहेका छन् । अर्घाभगवतीसँगै सुपादेउराली, पाणिनि तपोभूमि, बल्कोट पौवा, छत्र महाराज मन्दिर, मालारानी, नरसिंह थानलगायतका मन्दिरमा पनि दसैँमा विशेष पूजा हुँदै आएको छ ।