गोरखापत्र समाचारदाता
काठमाडौं, कात्तिक २ गते । भक्तपुर नगरपालिका –२ ले तेस्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ । स्पिन इभेन्ट प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा वडा २ ले ललितपुर महानगरपालिकाको वडा १२ लाई ३–० ले पराजित गरेको हो ।
सो टिम इभेन्ट्सको महिला एकलमा वडा २ की मन्जु सुवालले इशान्भी महर्जनलाई ११–४, ११–५ र ११–३ तथा अन्जु सुवालले रोशनी महर्जनलाई ११–६, ११–७ र ११–५ को सोझो सेटमा पराजित गर्नुभयो । डबल्समा मन्जु र क्यारिना सुवालको जोडीले इशान्भी र रोनिशाको जोडीलाई ९–११, ११–१, १२–१० र ११–५ ले हराउनुभयो ।
सातदोबाटोको अन्तर्राष्ट्रिय खेलकुद परिसरस्थित कराते हलमा भइरहेको प्रतियोगिताको पुरुष टिम इभेन्टमा ललितपुर वडा ६ पहिलो भयो । ललितपुर वडा ६ ले फाइनलमा ललितपुर ७ लाई ३–१ ले
पाखा लगायो । पुरुष टिम इभेन्ट्समको एकल खेलमा ललितपुर –६ का राजेन्द्र कपालीले डिकेन महर्जनलाई ११–७, ११–४ र ११–५ तथा एलेक्स महर्जनलाई ११–४, ९–११, ११–७ र ११–८ को सेटमा पन्छाउनुभयो । डबल्समा राजेन्द्र र सन्जिलको जोडीले एलेक्स र डिकेनको जोडीलाई ९–११, ११–४, ११–९ र १२–१० ले निराश पारे । एलेक्सले सन्जिलमाथि ११–८, ११–७ र ११–९ को जित दर्ता गर्नुभयो ।