• १५ मंसिर २०८१, शनिबार

फेवातालका डुङ्गाचालकको मापसे जाँच

blog

लेखनाथ, कात्तिक २ गते । पोखराको फेवातालका डुङ्गाचालकको बुधवार मापसे जाँच गरिएको छ । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको र चाडपर्वको मौसम सुरु भएका बेला प्रहरीले आकस्मिक रूपमा मापसे जाँच गरेको हो । 

पोखरा ६ लेक साइडको फेवातालमा समय समयमा डुङ्गा दुर्घटना हुँदा मानवीय क्षतिसमेत हुने गरेको छ । चाडपर्वको बेला भीडभाड बढेको र सम्भावित दुर्घटना रोक्ने डुङ्गा चालकको मापसे जाँच गरिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो । ५० वटा डुङ्गाका चालकको जाँच गरिएकोमा कसैले मापसे गरेको नभेटिएको र लाइफ ज्याकेट नलगाउने तीन चालकलाई सचेत बनाइएको प्रवक्ता विकले जानकारी दिनुभयो । 

वडा प्रहरी कार्यालय बैदामले अस्थायी ट्राफिक प्रहरी पोस्ट बैदामको सहकार्यमा मापसे जाँच गरेको हो । कास्की प्रहरीले चाडपर्वलाई लक्षित गरी सुरक्षा निगरानी बढाएको छ भने सादा पोसाकमा समेत सुरक्षाकर्मी परिचालन गरेको छ । 

कास्की प्रहरीले पछिल्लो क्रममा ठुलो आवाज निकाल्ने स्वरूप परिवर्तन गरिएका मोटरसाइकललाई कारबाही गरिरहेको छ । पछिल्लो साता मात्र त्यस्ता एक सय आठ मोटरसाइकल कारबाहीमा परेका छन् । 

Author

फडिन्द्र अधिकारी