• ६ जेठ २०८१, आइतबार

आकाशमा देखिन छाडे चङ्गा, घट्दै छ रौनक

blog

विष्णु पाण्डेय

काठमाडौँ, कात्तिक १ गते । हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँको आगमन भइसकेको छ । अवसरको खोजीमा परदेश, सहर गएकाहरू गाउँ फर्किरहेका छन् । सहरका मल, पसलहरूमा यतिखेर सामान किनबेचको भिडभाड छ । 

विद्यालयहरू बिदा भएका छन् । केही वर्ष अघिसम्म दसैँ सुरु हुनु अगाडि नै बालबालिका तथा युवापुस्ताको हातमा लट्टाई र चङ्गा हुन्थ्यो । आकाशभरि रङ्गीचङ्गी चङ्गा उडेको देखिन्थ्यो तर अचेल भने दसैँ सुरु हुँदा पनि आकाशमा चङ्गा उडेको देख्न मुस्किल पर्छ ।

बालबालिकादेखि नेपाली युवापुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्टफोनप्रतिको बढ्दो मोहले गर्दा चङ्गा उडाउने परम्परा लोप हुँदै गएको छ । असनमा चङ्गा व्यापार गर्दै आउनुभएका चित्रकार किराना पसलका काजल गुरुङ चित्रकारका अनुसार यसपालि पहिलेजस्तो चङ्गाको व्यापार छैन । उहाँले भन्नुभयो , “यसपालि पहिलेको जस्तो चङ्गाको व्यापार छैन । पहिले चङ्गा किन्नेहरू धेरै आउँथे अहिले केही सीमित मात्रामा मात्र आएका छन् ।”

८० वर्ष अघिदेखि  चङ्गा व्यापार मात्र गरेको यो पसलमा अहिले चङ्गा खरिदका लागि ग्राहकहरू कम मात्रामा आउने गरेको उहाँले बताउनुभयो । अघिल्ला बर्स हरूमा दैनिक एक लाखसम्म खुद्रा र होलसेलमा चङ्गा व्यापार हुने गरेकोमा यसपालि मुस्किलले दैनिक ६० हजारसम्म मात्र भएको चित्रकारको भनाइ छ । यस्तै अर्का व्यापारी शाेभा श्रेष्ठका अनुसार यस वर्षको चङ्गा मात्र ४० प्रतिशतले घटेको बताउनुभयो । 

उहाँले भन्नुभयो, गतवर्षको तुलनामा यस वर्ष चङ्गाको माग कम छ । पोहोरको तुलनामा यसपालि ४० प्रतिशतले माग कम भएको छ । आर्थिक मन्दीका कारण चङ्गा व्यापारमा पनि असर पारेको हुनसक्ने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “आर्थिक मन्दीका कारण पनि चङ्गाको व्यापारमा कमी आएको हुनसक्छ । मानिससँग पैसा भए पो रमाइलोका लागि चङ्गा किन्नु, फजुल खर्च किन गर्नु भनेर नै चङ्गा खरिद कम भएको होला ।”

चालिसदेखि एक हजार पाँच सय रुपियाँसम्म मूल्य 

चङ्गा व्यापारीका अनुसार अहिले बजारमा चङ्गाको मूल्य चालिस रुपियाँदेखि एक हजार पाँच सय रुपियाँसम्मका चङ्गा पाइन्छन् । 

चङ्गा व्यापारी गीता शर्माका अनुसार प्लाष्टिकका लट्टा भएका चङ्गाहरू सस्तोमा ४० रुपियाँमै पाइन्छ । तर बासको लट्टाइ भएको चङ्गालाई एक हजार पाँच सयसम्म पर्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो,“ अचेल बजारमा प्लाष्टिकका लट्टा भएका चङ्गाहरू सस्तोमा जताततै पाइन्छ । तर, बाँसको बलियो लट्टाई भएको चङ्गालाई एक हजार पाँच सयसम्म पर्छ । ”चङ्गाको मूल्य लट्टा र धागोको आधारमा पनि बढी वा घटी हुने उहाँको भनाइ छ । 

प्रविधिले चङ्गाको रौनक हरायो 

इतिहासविद् जगमान गुरुङका अनुसार प्रविधिको विकाससँगै  दसैँमा चङ्गा उडाउने संस्कृति पनि लोप हुँदै जान थालेको छ ।र 

उहाँले भन्नुभयो, “पहिले मनोरञ्जनको रूपमा दसैँमा चङ्गा उडाउने पिङ खेल्ने परम्परा थियो । तर, अहिले प्रविधिको विकाससँगै मानिसहरू मोबाइल, इन्टरनेटमा व्यस्त हुन थाले त्यसैले यी परम्परा पनि बिस्तारै हराउँदै गएका छन् ।”  

उहाँका अनुसार पहिले राणाकालमा दसैँ अघि आकाशमा चङ्गा उडाएको पाइए सिपाहीहरू पुगेर कारबाही नै गर्ने गर्दथे । तर, दसैँमा सबैलाई चङ्गा उडाउन छुट दिने गरिन्थ्यो । 

दसैँमा चङ्गा चैट गर्नेले नै प्रतियोगिता जितेसरह खुसी हुने सम्झना सुनाउँदै उहाँले भन्नुभयो, “दसैँमा चङ्गा चैट गर्नेले प्रतियोगिता नै जितेको सरह मानिन्थ्यो । चङ्गा चैट भनेको आफ्नो चङ्गाले अरूको चङ्गाको धागो छिनाएर ल्याउने हो । त्यसैले चङ्गा चैट गर्नुपर्छ भन्ने मानसिकता थियो ।”

दसैँमा चङ्गा उडाउने प्रचलन मनोरञ्जन र परम्परासँग पनि जोडिएकाले यसको महत्त्व अझ बढी रहेको उहाँको भनाइ छ । शरद ऋतुको आगमनसँगै सफा आकाशमा चङ्गाहरू हुने र रङ्गी–चङ्गी चङ्गाहरू आकाशमा उड्दा फरक रौनक देखिने उहाँको भनाइ छ । 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।