मीना कंडेल
कावासोती, कात्तिक १ गते । पूर्वी नवलपरासीमा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ । बजार अनुगमन जिल्लाको कावासोती, देवचुली, गैँडाकोट नगरपालिका क्षेत्रमा गरिएको छ ।
कावासोती नगरपालिका क्षेत्रमा रहेका खाद्य सामग्रीका व्यवसायहरूको अनुगमन गरिएको छ । कावासोती बजार क्षेत्रका हाटबजार, फलफूल चोक, थाना चोक, बिपी चोक लगायतका स्थानमा रहेका मासु तथा माछा पसलको अनुगमन गरिएको हो ।
चाडपर्व सुरु भएसँगै अन्य समयमाभन्दा अहिले माछा, मासुको प्रयोग बढी हुने भएकाले शुद्ध, गुणस्तरीय मासुको बिक्री होस् र उपभोक्ताको स्वास्थ्यमा कुनै नकारात्मक प्रभाव नपरोस् भनेर मासु तथा माछा पसलमा नगरपालिकाका बजार अनुगमन संयोजक दिनेश भण्डारीले बताउनुभयो ।
अनुगमनका क्रममा गुणस्तरीय मासु, माछा बिक्री गर्न, सरसफाइमा ध्यान दिन, दर्ता नवीकरण गरी व्यवसाय सञ्चालन गर्न निर्देशन गरिएको बजार अनुगमन संयोजक भण्डारीले बताउनुभयो ।
उपभोक्ताले समेत सामान किन्दा उपभोग्य मिति हेरेर, गुणस्तर हेरी खरिद गर्न संयोजक भण्डारीले अनुरोध गर्नुभयो । चाडपर्वमा मात्र अनुगमन हुन्छ भन्ने भ्रमलाई हटाइ आम उपभोक्ताको स्वास्थ्यको ख्याल गर्दै बजार अनुगमनलाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भयो । अनुगमनलाई पालिकाले निरन्तरता दिँदै जाने जनाइएको छ । अन्य खाद्य तथा उपभोग्य बस्तुको बिक्रीको अवस्था लगायतका विषयमा अनुगमन गरिने श्रेष्ठले बताउनुभयो ।