काठमाडौं, असोज ३० गते । राष्ट्रिय सञ्चार माध्यमले जातीय भेदभाव तथा छुवाछुतका घटनाको उठान गर्ने गरे पनि त्यसको समाधानका लागि पनि ध्यान दिनुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।
उहाँहरूले काठमाडौँ सहरदेखि गाउँका दूरदराजसम्म पनि जातीय भेदभाव तथा छुवाछुतका कायमै रहेकाले सञ्चारमाध्यमले समाधानका लागि पनि समाजलाई प्रेरित गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै दलित महिला संघ (फेडा) का संस्थापक अध्यक्ष दुर्गा सोबले पछिल्लो समय जातीय भेदभाव र छुवाछुतका घटनाको अवस्था बलिएको बताउनुभयो ।
पहिला धारा, कुवा र मन्दिरमा रहेको छुवाछुत अहिले अन्तरजातीय विवाहमा बढी देखिएको छ भन्दै उहाँले यो पुस्तान्तरण र अर्को पुस्तामा हस्तान्तरण हुन थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । नयाँ पुस्ताले यस्ता घटना घटाउन पहल गर्नुपर्नेमा त्यसो नभएको भनाइ पनि उहाँको छ ।
अन्तर जातीय विवाहकै कारण कतिपय कारागारमा बस्नु परेको छ, समाज र गाउँबाट निकाला गरिएको छ, त्यस्ता घटनालाई राजनीतिक तथा जातीय संरक्षणसमेत हुने गरेकाले सञ्चार माध्यमले यस्ता विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने सुझाव अभियान्ता सोबको छ ।
कार्यक्रममा फेडोकी अध्यक्ष कला स्वर्णकार र महासचिव रेनु सिजापती, कार्यकारी निर्देशक रविना रसाइलीलगायतले दलित समुदायले भोग्नु परेका समस्याबारे चर्चा गर्नुभयो ।
विभिन्न सञ्चार माध्यमका सम्पादकले संस्थाहरूले तथ्याङ्कहरूको विश्लेषण गर्दा एक पक्षियरुपमा नगर्न र नकारात्मक कुरा मात्र होइन समाज परिवर्तनमा आएका सकारात्मक कुरालाई पनि बाहिर ल्याउन सुझाव दिए ।