• १५ मंसिर २०८१, शनिबार

विद्यालय भवन बनेपछि छायो खुसी

blog

बेनी समाचारदाता 

म्याग्दी (बेनी), असोज ३० गते । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली गाउँमा सुविधासम्पन्न विद्यालय भवन निर्माण भएपछि गाउँलेले खुसियाली मनाएका छन् । जयन्ती माध्यमिक विद्यालयमा निर्माण भएको २२ कोठे भवनको उद्घाटनका अवसरमा स्थानीयवासीले नौमती बाजा, पहिचान झल्किने विभिन्न झाँकीसहित नाचगान गर्दै ¥याली निकालेका थिए । भवन बनेको खुसियालीमा अभिभावक, शिक्षक र विद्यार्थीले नाचगान गरे । 

नवनिर्मित भवनको आइतबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जालीले उद्घाटन गर्नुभयो । समुदायको अगुवाइमा शैक्षिक क्षेत्रमा भएको उदाहरणीय कामको उहाँले प्रशंसासमेत गर्नुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र भौतिक पूर्वाधार निर्माण गर्न समुदाय नै क्रियाशील हुनु पर्दछ । भकिम्लीवासीले उदाहरणीय कार्य गरेर सबैलाई सन्देश प्रवाह गर्नुभएको छ । शैक्षिक विकासका लागि थाल्नुभएको अभियानमा सबै तहका सरकारको साथ र सहयोग मिल्छ ।” 

२०७२ सालदेखि जयन्ती माविको विद्यालय भवन पुनर्निर्माण अभियान सुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले दुई तले २२ वटा कोठा रहेको सुविधासम्पन्न र व्यवस्थित विद्यालय भवन तयार भएको हो । समुदायको अगुवाइमा चन्दा सहयोग सङ्कलन गरेर करिब तीन करोड पचास लाख रुपियाँमा भवन निर्माण गरिएको हो । अभियानकर्ता लोकराना मगरले स्वदेशका सहयोगीहरूबाट र विदेशमा रहेका भकिम्लीवासीको अगुवाइमा सहयोग सङ्कलन गरिएको बताउनुभयो । हिमालयन परियोजनाले ३८ लाख रुपियाँ सहयोग गरेको छ । विद्यालय भवन पुनर्निर्माणमा करिब तीन करोड ५० लाख रुपियाँ खर्च भए पनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, सङ्घ संस्था र सरकारी तवरबाट तीन करोड २३ लाख ५५ हजार मात्रै सहयोग जुटेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले जानकारी दिनुभयो । 

उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, गण्डकी प्रदेश सभाका सदस्य हरिबहादुर भण्डारी, बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने, पुनर्निर्माण समितिका अभियन्ता लोक रानालगायतले समुदायको अग्रसरमा नमुना काम भएको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा सहयोगदाता र पुनर्निर्माणमा विशिष्ट योगदान दिने व्यक्तिलाई सम्मान गरिएको थियो । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले १७६ जना विद्यार्थी अध्ययनरत छन् । भवनमा कक्षाकोठा भवनसहित कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, पुस्तकालय, कार्यालय र स्टाफ कक्षलगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको विद्यालयका प्रधानाध्यापक भोजबहादुर जिसीले बताउनुभयो ।