काठमाडौँ, असोज ३० गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मङ्गलबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुुलियत दिनका लागि कम्पनीले खसीबोका बिक्री खुला गरेको हो ।
आइतबार उपत्यकामा हेटौँडाबाट तीन सयको सङ्ख्यामा खसीबोका र रसुवाबाट ३७० वटा च्याङ्ग्रा भित्रिइसकेका कम्पनीले जनाएको छ । बाँकी भने आउने क्रममा रहेको कम्पनीले जनाएको छ ।
खसीबोकाको बिक्री कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री हुने छ । कम्पनीका प्रवक्ता शर्मिला न्यौपानेले मङ्गलबारदेखि खसीबोकाको बिक्री खुला गरिएको जानकारी दिनुभयो । जिउँदो खसी प्रतिकेजी ६८० रुपियाँ निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६७० रुपियाँमा बिक्री खुला गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २६० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर एक हजार २५० रुपियाँ बिक्री मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले मङ्गलबार बिहान ८ बजेदेखि प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री गर्ने जनाएको छ । बजारमा निजी व्यवसायीले मनपरी मूल्य निर्धारण गरी उपभोक्ता ठक्ने सक्ने हुुनाले बजार मूूल्य नियन्त्रण गर्न कम्पनीले दसैँमा सुपथ मूल्यमा खसीबोका बिक्री गर्ने गर्छ ।
कम्पनीले प्रत्येक वर्ष दसैँमा उपभोक्तालाई सहुलियतमा वितरण गर्न विभिन्न ठाउँबाट खरिद गरेर उपत्यकामा ल्याई वितरण गर्ने गर्छ । कम्पनीले दसैँलाई दुई हजारको सङ्ख्यामा खसीबोका र एक हजार च्याङ्ग्रा ल्याएर बिक्री गर्दै छ । खसीबोका खरिद गर्न आठ करोड ३६ लाख रुपियाँ छुट्याएको कम्पनीले जनाएको छ ।
निजी क्षेत्रका व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । व्यवसायीले प्रतिकेजी ६७० देखि ६८० रुपियाँ रहेको छ । व्यवसायीले विभिन्न जिल्लामा खरिद गरी उपत्यकामा ल्याएर बिक्री गरिरहेका छन् । यो वर्ष दसैँमा उपत्यकामा ४५ देखि ५० हजारको सङ्ख्यामा खसीबोका बिक्री हुने व्यवसायीले अनुमान गरेका छन् । दसैँमा सबैले मासु खाने हुँदा बजारमा खपत धेरै हुने गर्छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि व्यवसायीले छिमेकी मुलुक भारतबाट समेत खसीबोका र च्याङ्ग्रा आयात गरेका छन् ।