• ६ जेठ २०८१, आइतबार

दसैँमा घर पुग्नै मुस्किल

बसपार्कमा यात्रुको चाप, टिकट पाउनै घण्टौं लाममा

blog

मानिसहरूको भीडभाड, वीरेन्द्रनगर बसर्पाक । तस्बिर : रजनी योगी

रजनी योगी
सुर्खेत, असोज २९ गते ।
मानिसहरूको भीडभाड बढेको छ । जता हेर्‍यो त्यतै मानिसहरूकै भीड देखिन्छ । कोही लाइनमा उभिएका छन् त कोही यताउता दौडिरहेका छन् । कोही कसैलाई पर्खिरहेका छन् भने कोही हतारमा देखिन्छन् ।

यो दृश्य हो, वीरेन्द्रनगर बसपार्कको । केही दिनयता बसपार्कको दृश्य नै बदलिएको छ । दसैँ नजिकिएसँगै यात्रुहरूको चाप ह्वात्तै बढेको छ । दसैँ मनाउन घर फर्किनेहरूको भीडले बसपार्कमा बेग्लै रौनक छाएको छ । यद्यपि, यही रौनकबीच यात्रुहरूलाई सास्ती पनि भएको छ । कतिले टिकट नै पाएका छैनन् । टिकटै लागि बसपार्क धाइरहनुपरेको उनीहरूको गुनासो छ ।

घटस्थापनासँगै यात्रुको चाप बढेको छ । यात्रुको चाप बढ्दा टिकट काट्न घण्टौँ कुर्नुपर्ने अवस्था सिर्जना भएको छ । काठमाडौंमा बसेर अध्ययन गर्ने दैलेखका पुस्कर योगी  सुर्खेतमै बसेको दुई दिन भइसक्यो । आइतबार काठमाडौंबाट सुर्खेत आइपुग्नु भएको उहाँले दुई दिनसम्म गाडीको टिकट पाउन सक्नुभएको छैन । अत्यधिक भीड हुँदा सोमबार भने मुस्किलले टिकट काटेर भए पनि घर जाने उहाँले बताउनुभयो ।

सोमबार बिहान कालिकोट जान बसपार्कमा पुग्नुभएको शारदा पाण्डेले टिकट नपाएको बताउनुभयो । ११ बजे बसर्पाकमा भेटिनुभएका उहाँले दिउँसोसम्म टिकट पाउनुभएको थिएन ।

अध्ययन, जागिर र व्यवसायका लागि जुम्ला, कालीकोट, दैलेख, मुगु, डोल्पा, हुम्ला, रूकुमपश्चिम, सल्यान, जाजरकोटलगायतका जिल्लाका नागरिकहरू सुर्खेतमा रहेका छन् । रोजगारीका लागि भारत र अध्ययनका लागि विभिन्न जिल्ला पुगेका विद्यार्थीहरूको घुइँचो पनि उत्तिकै देखिन्छ । जाजरकोट जान हिँड्नुभएका पवन कार्कीले गाडीको टिकट पाउन सक्नुभएको छैन । उहाँ सोमबार सुर्खेत बसपार्कमा भेटिनुभएको थियो । ‘‘सबै गाडीमा यात्रु भरिभराउ छन् । घर पुग्न गाडी नै पाइएको छैन,’’ उहाँले भन्नुभयो, ‘‘मङ्गलबारको टिकट पाइयो भने लिनुपर्ला ।’’ बिहानैदेखि जाजरकोटका लागि धेरै गाडी छुटे पनि सिट नहुँदा जान नपाइएको उहाँले सुनाउनुभयो ।

बसपार्कमा विशेष गरी दैलेख र कालिकोटको टिकट काउन्टरमा यात्रुको भीड बढी नै थियो । सबैभन्दा बढी दैलेख जाने यात्रुहरू हुने गर्दछन् । सुर्खेतबाट दैलेखका विभिन्न ठाउँका लागि नियमित रूपमा दैनिक २८ वटा बस छुट्छन् । तर दसैँको बेलामा थप गाडीको व्यवस्था गरिएको संयुक्त यातायातका संयोजक नारायण चपाईले बताउनुभयो । ‘‘शनिबार र आइतबारदेखि घर जाने यात्रुहरूको भीड छ,’’ उहाँले भन्नुभयो, ‘‘नियमित क्युभन्दा बाहेक प्रत्येक रुटमा १०–१२ वटा गाडी थप गरिएको छ । अझै ५० वटा जति गाडी थप्नुपर्ने हुन सक्छ ।’’ कर्णालीका दशवटै जिल्लामा प्रत्येक रुटमा नियमित क्युभन्दा १०–१२ गाडी थप गरिएको उहाँले जानकारी दिनुभयो ।

सुर्खेतका ट्राफिक प्रहरी प्रमुख देवेन्द्रसिंह बुढाथोकीले केही दिनयता सवारी चाप बढेको बताउनुभयो । ‘‘आइतबारदेखि विभिन्न रुटमा गाडीको चाप अलि बढेको छ । शनिबार कर्णाली राजमार्गमा नियमितभन्दा करिब ३० प्रतिशत बढी गाडी गुडेका थिए । गाडीको चापलाईं विचार गरी ठाउँठाउँमा चेकजाँच पनि बढाइएको बुढाथोकीले बताउनुभयो । यस्तै, नेपालगन्जबाट सुर्खेत आउने गाडीमा सिट क्षमताभन्दा बढी यात्रु ल्याउँदा आइतबार मात्र १७ वटा गाडी बबईमा रोकिएका थिए ।