• १२ साउन २०८१, शनिबार

ठाँटीको घाम उपन्यास सार्वजनिक

blog

साहित्यकार टङ्क भटराईको ‘ठाँटीको घाम’ उपन्यास सार्वजनिक गरिँदै । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २८ गते । साहित्यकार टङ्कबहादुर भट्टराईले लेख्नुभएको ‘ठाँटीको घाम’ नामक उपन्यास सार्वजनिक (विमोचन) गरिएको छ । घटस्थापनाको अवसर पारेर सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रमबीच सो उपन्यास सार्वजनिक गरिएको हो ।

ताप्लेजुङस्थित जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा र मेरिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम (डम्बर) ले संयुक्त रुपमा उपन्यासको सार्वजनिक गर्नुभयो । 

हाल काठमाडौंको बुढानिलाकण्ठ निवासी साहित्यकार एवम् उपन्यासकार भट्टराईको ठाँठीको घाम नामक उपन्यास तेस्रो कृति हो । ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका साहित्यकार भट्टराईले कर्मथलो (कार्यरतस्थल) रहेको क्षेत्रमा नै आफ्नो कृति उपन्यास सार्वजनिक गर्ने योजना बनाएर मुद्रण कार्यलाई तीब्रता दिनुभएको थियो । 

आफ्नो योजनाअनुसार छोटो समयभित्रै कृति मुद्रणको कार्य सम्पन्न गरी हालको कर्मथलो ताप्लेजुङमै उपन्यासको सार्वजनिक गर्न सफल भएको पनि उपन्यासकार भट्टराईले बताउनुभयो । उहाँले प्रकाशित कृति ‘ठाँटीको घाम’ उपन्यासका विषयमा ताप्लेजुङबासीको तर्फबाट प्राप्त गरेको सकारात्मक सुझाव, हौसला र प्रसंसाप्रति आभार पनि व्यक्त गर्नुभयो ।

ठाँटीको घाम उपन्यासभित्र विभिन्न ५२ वटा खण्डमा छुट्टाछुट्टै कथा तथा विषयवस्तु समेटिएका छन् भने उपन्यास २४५ पृष्ठको रहेको छ । उपन्यासको समीक्षा स्थानीय साहित्यकार तथा लेखक शान्तिराम नेपाल र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष आनन्द गौतमले गर्नुभएको थियो ।

ठाँटीको घाम उपन्यास रत्न पुस्तक भण्डार काठमाडौंले प्रकाशन गरेको हो । आवरण लेआउट सोलुसन ग्राफिक्स डिजाइनले गरेको छ । भट्टराईका यसअघि पहिलो कृतिको रुपमा ‘साँझमा पारिलो तारा–२०६७’ कविता सङ्ग्रह र दोस्रो कृति ‘म पनि बग्दैछु साप्सु–२०७३’ कथा सङ्ग्रह प्रकाशित छन् ।