• ७ साउन २०८१, सोमबार

अवसर खोज्दै विदेशको यात्रा

blog

नेपालमा भने जस्तो अवसर नपाएरै हामी बिदेसिएकाहरू पक्कै पनि अवसरको खोजीका लागि बाहिरिएका हौँ । कोही नेपालमा अवसर नै नपाएर बिदेसिएका छौँ होला । कोही नेपालमा अवसर हुँदाहुँदै पनि गुणात्मक अवसरका लागि वा आफ्नो शैक्षिक दायरालाई फराकिलो गराउनका लागि विदेश पुगेका छौँ होला । कोही बिदेसिने सजिला अवसर पाएर होला, जस्तो कि अमेरिकाका लागि ग्रिनकार्ड वा डिभी भिसाबाट । जे सुकै होस्, हामी थप अवसरसँगै जीवनलाई गुणात्मक परिवर्तन दिन सकिन्छ कि भन्ने आशामा बिदेसिएकै हो । थप बिदेसिने दौडधुप पनि त्यसैका लागि हो । 

हामी मात्रै होइन हाम्रै छिमेकी भारत वा चीनका नागरिक पनि अवसरका लागि बिदेसिएकै छन् । सन् २०१९ को माइग्रेसन पोलिसी इस्टिच्युटको एक तथ्याङ्क अनुसार झन्डै २७ लाख भारतका मानिस अमेरिकामा बसोबास गर्छन् । सोही इस्टिच्युटको तथ्याङ्क अनुसार झन्डै ५५ लाख चीनका नागरिक अमेरिकामा बसोबास गर्छन् । अमेरिका बस्ने नेपालीको सङ्ख्या ठ्याक्कै भन्न सकिने खालको छैन तर पनि तीन लाखभन्दा बढी नेपाली अमेरिकामा बसोबास गर्दै आएको अनुमान गरिन्छ । 

हालसालै एक दैनिक अखबारमा प्रकाशित तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष २०७९–८० मा मात्र सात लाख ७५ हजार नेपाली कामदारका रूपमा र एक लाख १० हजार पढ्न भनेर बिदेसिएका छन् । यसरी हेर्दा, एकै वर्ष करिब नौ लाख युवाले नेपाल छाडेका छन् । यो भनेको १६–४० उमेर समूहको करिब सात प्रतिशत हो ।

यस तथ्याङ्कले नेपालका सिर्जनशील र उत्पादनमूलक उमेरका युवाको समग्र मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ । त्यो मनोविज्ञान भनेको देशमा बसेर गुजरा चलाउन वा जीवनमा सुधार गर्न सकिँदैन भन्ने हो । देशले न रोजगारी दिन सक्छ । न त राजनीतिले कुनै आशाको दियो बाल्न सक्छ । न गरी खाने खेतबारीमा सोचे जति र खानपुग्ने गरी उब्जनी नै हुन्छ । न त राज्यसँग सामाजिक सुरक्षाको दरिलो कुनै प्रावधान नै छ । देशमा कुनै विकल्प नभएपछि सीमित सङ्ख्याका युवा, जसको राजनीति र प्रशासनमा पहुँच छ, जसले आफ्नो रोजगारीबाट पनि प्रशस्त आम्दानी गर्न सक्छन्, बाहेक अन्यसँग बिदेसिनुको अर्को विकल्प रहँदैन । 

हल्काफुल्का राजनीतिमा लागेका युवाले बिदेसिनेहरूलाई निकै आलोचना गरेको पाइन्छ तर उनीहरूले बिदेसिएका युवाको बाध्यतालाई नियालेर, त्यसका कारणलाई राम्रोसँग अध्ययन गरेको पाइँदैन । घरमा बुबाआमा, श्रीमती, छोराछोरी पाल्नुपर्ने बाध्यतालाई राष्ट्रप्रेमको मायाजालसँग तुलना गर्नु अर्थहीन हुन्छ । बिहान बेलुका अँगेनामा खाना पकाउने जोहो हुँदैन भने त्यस्तो अवस्थामा बिदेसिनुलाई राष्ट्रप्रेमसँग जुधाउनु गलत हुन्छ । 

अहिले आएर यो विदेश जाने क्रम नेपालमा अवसर नपाएका वा थप अवसरका वा अध्ययनका लागि मात्रै बढेको छैन । टन्न पैसावाला वा ठुलै व्यवसाय गर्नेले पनि आफ्नो पैसा बोकेर बिदेसिने क्रम बढ्न थालेको छ । यसको प्रमुख कारण देशको राजनीति र आर्थिक अस्थिरता नै हो । त्यसमाथि कोभिड–१९ ले व्यवसाय नै बन्द गरेर विदेश जाने पनि उल्लेख्य छन् । 

बिदेसिनेहरू मूलतः दुई वर्गका छन् । त्यसमा हालसालै अर्को वर्ग पनि थपिएको छ, व्यवसायी । पहिलो वर्ग काम गर्ने र नेपाल फर्कनेमा पर्छ । यो वर्गका युवा प्रायजसोः मलेसिया, साउदी अरेबिया, कतार, युएई, कुवेत, ओमन, बहराइनका साथै साउथ कोरियातिर काम गर्ने, पैसा कमाउने र नेपाल फर्कने गर्छन् । दोस्रो वर्गका अधिकांश युवा जो पढ्नका लागि वा अन्य अवसर पाएर युरोप तथा अमेरिकन देशहरूमा जान्छन्, उनीहरू हत्तपत्त फर्कने सोच बनाउँदैनन् । मिलेसम्म त्यही ग्रिनकार्ड वा पर्मानेन्ट रेसिडेन्डको अनुमति लिँदै नागरिकसम्म बन्ने सोच बनाएका हुन्छन् । तेस्रो वर्ग, जसलाई व्यवसायी भनियो उनीहरू नेपालमा आफ्नो सम्पत्तिको सुरक्षा अस्थिरताबाट भयभीत भएर सुरक्षित अवतरणका लागि विकसित देशमा व्यवसाय गर्ने अवसरमा बिदेसिएका छन् । उनीहरू झन् स्थायी रूपमा देश फर्कने कुरै भएन । 

दोस्रो वर्गका युवाले देश फर्कने सोच बनाउन नसक्नुको प्रमुख कारण भनेको देशको अस्थिरता र फर्किसकेपछिको रोजगारीको अनिश्चितता नै हो । देश फर्केर रोजगारी पाइहाले पनि त्यसले घर धान्न नै धौधौ पर्ने अवस्थामा आफ्नो जीवनलाई गुणस्तरीय गाह्रो छ । विकसित देशमा उनीहरूका लागि सधैँ बस्न सक्ने विकल्प पनि छन् । ती विकल्पको सदुपयोग गर्न सकेसम्म कोही पनि नेपाल फर्कन चाहन्न । फ्याट्टफुट्ट राजनीति गर्छु वा व्यवसाय गर्छु भनेर औँलामा  गन्न सक्ने गरी केही फर्कनु अलग कुरा भयो । 

करिब दस वर्षअघिसम्म विकसित मुलुकमा बस्ने ग्रिनकार्ड नै भएकाहरूमा पनि देशमा फर्कनु पर्छ भन्ने धारणा बलियोसँग थियो तर अहिले आएर यो वर्गका मानिसहरूको पनि देश फर्कने धारणा अति कमजोर बन्दै गएको पाइन्छ । त्यसका मुख्य कारणमा नेपालको अस्थिर राजनीतिले निरन्तरता पाउनु, अर्थतन्त्र बिग्रँदै जानुका साथै यसबाट उब्जेको मनोवैज्ञानिक भय हुन सक्छन् । केही समयका लागि देश छोडेर पुनः आफ्नो देशमा फर्कनु पर्छ भन्ने मान्यता बिदेसिन प्रायः सबैमा हुने गरेको छ । त्यो मान्यता मात्र होइन त्यसले प्रायः बिदेसिएका नेपालीलाई हरेक दिन भावुक बनाइदिन्छ तर निर्णयमा पुग्न असजिलो मात्रै छैन प्रायःजसोका लागि असम्भव जस्तै हुन थालेको छ । 

नेपाली जो अमेरिका, क्यानडा, बेलायत, युरोपमा छन् उनीहरूका लागि नेपाल फर्कने निर्णय गर्न त्यति सजिलो छैन । शैक्षिक, पारिवारिक र आर्थिक पक्षहरूले नेपाल फर्कने योजनामा निकै जटिलता थपेको पाइन्छ । पहिलो शिक्षालाई लिउ । यी देशमा बिदेसिएका प्रायका सन्तानहरू कित बाबुआमा बिदेसिएपछि विदेशमै जन्मिएका छन् वा बाबुआमा बिदेसिँदा उनीहरूसँगै बिदेसिएका छन् । यस्ता मानिसका छोराछोरी जो, सानै उमेरका छन्, उनीले विदेशी विद्यालयमै अध्ययन सुरु गरिसकेका छन् । विदेशमा प्रायजसोः माध्यमिक विद्यालयसम्म निःशुल्क शिक्षा छ । नेपाल फर्कनु भनेको छोराछोरीका लागि शिक्षामा थप लगानी गर्नु हो । बोडिङ स्कुलको चर्को मूल्य बुझाउन तयार हुनु हो । त्यो कुरा बाबुआमाले स्पष्ट रूपमा बुझेका छन् । अर्को कुरा नेपाल फर्किसकेपछि नेपालको पाठ्यक्रम अनुसार उनीहरूलाई शिक्षामा रूपान्तरण गर्नका लागि लामै समय लाग्छ । यदि छोराछोरी कलेज गइसकेका छन् भने उनीहरूलाई छोडेर बाबुआमा सदाका लागि नेपाल फर्कन सक्दैनन् । कलेज जाने छोराछोरी नेपाल फर्कन मान्दैनन् । त्यसमाथि यदि विदेशी नागरिकता भएका वा विदेशमा जन्मेका बालबालिकाकासहित नेपाल फर्कने हो भने आप्रवासी भिसा लिनु पर्छ र उनीहरू नेपाल बस्दा दैनिक रूपमै आप्रवासी शुल्क बुझाउनु पर्ने हुन्छ । 

दोस्रो पक्ष पारिवारिक । छोराछोरीको बिहे वर्तन भइसकेको छ भने रिटायड जिन्दगी बिताउनेहरू नाति नातिना रेखदेखकै लागि पनि विदेशमै बस्नुपर्ने बाध्यता हुन्छ । उनीहरू केही समयका लागि नेपाल फर्के पनि छोराछोरी र नातिनातिनाको मायाले पुनः विदेश फर्किहाल्छन् । फेरि, जो विदेशमै बुढो भएर रिटायड भइसकेका छन्, उनीहरू नेपाल फर्के पनि देशलाई ठुलो कुनै योगदान दिन सक्दैनन् । 

तेस्रो पक्ष आर्थिक । विकसित मुलुक, त्यसमा पनि अमेरिका बस्नु भनेको आर्थिक रूपमा बाधिनु हो । अमेरिका बस्दा सामान्य रूपमा गाडी किन्नै पर्ने हुन्छ । बस्दै जाँदा घर भाडा कति बुझाउने भन्ने लाग्छ अनि अपार्टमेन्ट वा घर नै किन्नुपर्ने हुन्छ । यसरी गाडी वा घर किन्दा नेपालमा जस्तो एकै पटक मोटो रकम बुझाएर किन्न सकिँदैन । महिनाभर कमाउने र किस्ताबन्दीमा ऋण बुझाउँदै जाने हो । अमेरिकामा सबैले स्वास्थ्य बिमा गर्नैपर्ने हुन्छ । यीलगायत आर्थिक दायित्वबाट छुटकारा पाउनका लागि सबैलाई हम्मेहम्मे नै पर्छ । 

साथै, यस्ता दायित्वबाट छुटकारा पाउँदासम्म जीवन बितेको थाहै हुँदैन । अनि रिटायड जीवनमा नेपाल जाने मन त लाग्छ तर मन नेपाल राख्ने र ज्यानलाई छोराछोरीका लागि विदेश राखी बस्नुको विकल्प हुँदैन । यो उमेरमा नेपाल फर्कंदा पनि आफन्त वा साथीभाइ कताकता पुगेका हुन्छन् । उनीहरूसँग पुनः सम्बन्ध बनाउन धेरै समय लाग्छ । यस्ता जटिलताले बिदेसिएका नेपालीलाई नेपाल फर्कन मन लागे पनि फर्कने उपाय खोज्दाखोज्दै उमेर ढल्कन्छ । 

यी सबै जटिलता अवसरकै खोजीका कारण जन्मिएका हुन् । एकातर्फ नेपालमा अवसर कम छ अर्कातर्फ हातमा विकल्प हुँदाहुँदै मानवीय स्वभाव उक्त विकल्प गुमाउन चाहँदैन । त्यसले स्वार्थ जन्माउँछ । स्वार्थ आफ्नो र परिवारको समृद्धि र गुणस्तरीय जीवनका लागि हुन्छ । तसर्थ, हामी बिदेसिएका पक्कै अवसरवादी हौ । यो अवसरवादिता नेपालमा राजनीतिक स्थिरता र आर्थिक सबलता नभएसम्म वर्षांैसम्म निरन्तर चल्ने देखिन्छ । 

  

Author

अमृत भण्डारी