• १३ असोज २०८१, आइतबार

दसैँलाई खसीबोका आजदेखि भित्रिँदै

blog

काठमाडौँ, असोज २८ गते  । नेपालीको महान् पर्व विजयादशमी सुरु भएसँगै दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याउने भएका छन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्र्छन् ।

चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका हुन् । सामान्य अवस्थामा करिब दुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिक रूपमा बढ्दै जाने उहाँको भनाइ छ । उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने उहाँको भनाइ छ । 

दसैँमा उपत्यकामा यो वर्ष ४५ देखि ५० हजार रुपियाँको हाराहारीमा खसीबोका र च्याङ्ग्रा गरेर खपत हुने व्यवसायीको अनुमान छ । हाल बजारमा प्रतिकेजी जिउँदो खसी प्रतिकेजी ६६० देखि ६८० रुपियाँ सम्म पर्छ । गैरकानुनी तवरबाट व्यापारीले भारतबाट खसीबोका ल्याउने गरेको थापाको 

भनाइ छ । 

दसैँमा सबैले अधिक मासुको उपभोग गर्ने भएकाले पनि उपत्यकामा धेरै खसीबोका बिक्री हुने गर्छ । देशका विभिन्न स्थानमा हुने स्थानीय उत्पादनले माग धान्न नसक्दा व्यवसायीले छिमेकी मुलुक भारत र चीनको तिब्बतबाट समेत खसीबोका र च्याङ्ग्रा आयात गर्छन् । भारतबाट गैरकानुनी ढङ्गले पनि खसीबोका भित्रिने गरेको व्यवसायीको भनाइ छ । 

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्न लागेको छ । कम्पनीले विभिन्न जिल्लामा खसीबोकाको खरिद प्रक्रियासमेत सुरु गरिसकेकाले आइबार वा सोमबारसम्म उपत्यकामा आइपुग्ने जनाएको छ । खसीबोका आएको भोलिपल्टबाट बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । आठ करोड ३६ लाख रुपियाँ खसीबोका खरिद गर्नका लागि छुट्याएको कम्पनीले जनाएको छ । 

सरकारले दसैँमा उपभोक्तालाई राहत दिन खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपियाँ छुट दिएको छ । बजार मूल्य नियन्त्रण गरी उपभोक्तालाई सहुलियत दिन प्रत्येक वर्ष छुटमा बिक्री गरिन्छ । 

कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट खसीबोका र च्याङ्ग्राको बिक्री हुन्छ । दाङको तुलसीपुर, मकवानपुरको हेटौँडा, धादिङ, कैलालीबाट खसीबोका ल्याइँदै छ । यस्तै रसुवाबाट च्याङ्ग्रा आउने कम्पनीले जनाएको छ ।