प्रनिश गिरी
कुश्मा पर्वत, असोज २७ गते । दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारले पितृको उद्धार होस् भनी दुर्घटनास्थल तमादी खोला पुगेर स्वस्ति शान्ति (पितृ कर्म) गरेका छन् । दुर्घटनाको पन्ध्र दिनपछि शनिवार विहान घटनास्थल तमादिखोलामा नै पुगेर मृतक माधव पौडेलको परिवारले पितृ उद्धार र आत्मा शान्तिका लागि स्वस्ति शान्ति कर्म गरेको हो ।
हार्दिक श्रद्धाञ्जली लेखेको व्यानर टाँसेको ठूलो ढुंगा मुन्तिर बसेकी मृतक पौडेलकी आमा भिमा पौडेलले गहभरी आँसु बोक्दै भन्नुभयो, “छोराको मुक्तिका लागि नारायणवली पुजा घरमै गरेको भए पनि थप आत्माशान्तिका लागि दुर्घटनास्थलमा आएर पुजा गरेको हो ।
मृतक पौडेलका जेठा दाजु योगेश्वर पौडेल र भाइसहित आमा भिमा पौडेल, बाबु रघुनाथ पौडेलले खोला किनार आाएर स्वस्ति शान्ति कर्म गरेका हुन् । शनिवार मृतकका परिवारले तमादी खोलामा आएको बाढीमा परेर ज्यान गुमाउने व्यक्तिको आफ्नो परिवारले केही पत्रकार र मिडियाले आफ्नो पीडालाई पैसा कमाउने अवसर बनाएको भनी आक्रोश पोखेका छन् ।
मृतक पौडेलका दाजु योगेश्वर पौडेलले आफ्ना सोझासाझा आमाबाबुलाई सोधखोज नै नगरी केही मिडिया र पत्रकारले अनलाइन, युट्युव, टिकटिकमा फोटो र भिडियो राखेको भनी आक्रोश पोख्दै भन्नुभयो, “हाम्रो परिवारको पीडालाई मिडियामार्फत् भ्युज बढाउने र पैसा कमाउने अवसरको रुपमा लिए । सुरक्षाकर्मी प्रहरी दाजुभाइले भने हामीलाई सक्दो सहयोग गर्नुभएको हो ।”
पन्ध्र दिन पहिले शनिबार रातिदेखि बाग्लुङदेखि पोखरा जाँदैगरेको ग १ ज ६२१३ नम्बरको टाटासुमो जीप पर्वतको कुश्मा नगरपालिका वडा ७ र ८ को सीमानामा पर्ने तमादि खोलाको बाढीले बगाउँदा तीनजना वेपत्ता भएका थिए । सोमध्ये ताराखोला गाउँपालिका ३ बागलुङका ५० वर्षे डम्वरबहादुर थापा वेपत्ता हुनुहुन्छ भने तिलोत्तमा नगरपालिका ९ घर भएका ३४ वर्षे गोपाल बस्यालको शव मोदीखोलाको दोभान छेउमा प्रहरीले भेटेको थियो ।