सचिन पोख्रेल
इटहरी, असोज २७ गते । कोशी प्रदेशअन्तर्गतका पहाडी जिल्लाहरू धनकुटा, उदयपुर र भोजपुर जिल्लाको विभिन्न स्थानमा ठुलो परिमाणमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अन्तर्गत अवैध रूपमा लगाएका गाँजाका बोटहरू नष्ट गरिएको हो । अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय छिन्ताङ, प्रहरी चौकी आँखिसल्ला र त्रिवेणीबाट खटिएको प्रहरी टोलीले धनकुटाको सहिदभूमि गाउँपालिका १, ३, ७ नम्बर वडाका २३ रोपनी जग्गामा लगाएको पाँच हजार सात सय गाँजाको बोट नष्ट गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको संयुक्त प्रहरी टोलीले बेलका नगरपालिका–७ र ताप्ली गाउँपालिका–२ स्थितका विभिन्न क्षेत्रमा लगाएको करिब ६२ हजार १५० बोट गाँजाको बोट नष्ट गरेको पनि प्रहरीले जनाएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको टोलीले भोजपुरको हतुवागढी गाउँपालिका–४ स्थितमा रहेको १८ रोपनी जग्गामा लगाएको तीन हजार पाँच सय गाँजाको बोट पनि नष्ट गरेको छ । पूर्वी पहाडी जिल्लामा लगाइएको अवैध गाँजा खेती नष्ट गर्ने अभियानलाई प्रहरीले तीव्रता दिने पनि जनाएको छ ।