• २६ वैशाख २०८२, शुक्रबार

देशभित्र रोजगारी सिर्जना गर्ने अभियानमा छौँ : कृषिमन्त्री भुसाल

blog

कृषि तथा पशुपंछी विकासमन्त्री डा.वेदुराम भुषाल पत्रकारमाझ । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, असोज २७ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.वेदुराम भुसालले युवाहरूको विदेश पलायन रोक्न कृषि र पर्यटन क्षेत्रमा देशभित्र रोजगारी सिर्जना  गर्ने अभियान सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनले शनिबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषि क्षेत्रबाट युवाहरूको पलायन हुनु चिन्ताको विषय भएको भन्दै युवाहरूको पलायन रोक्नका लागि सरकारले बाँझो जमिनलाई प्रयोगमा ल्याउनुको साथै चैते धानको खेतीलाई विस्तार गर्ने कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउन लागेको बताउनुभयो । 

उहाँले देशमा बाँझो रहेका १० लाख ३० हजार हेक्टर जमिनलाई प्रयोगमा ल्याइने बताउनुभयो । एक लाख हेक्टर जमिनमा चैते धानको विस्तार गर्ने कार्यक्रम मन्त्रालयले अघि बढाइसकेको उहाँको भनाइ छ । 

रोजगारी सिर्जनाका लागि कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले अन्य मन्त्रालयसँग समन्वय गर्ने बताउनुभयो । उहाँले विगत दश वर्षमा यस वर्ष सबैभन्दा बढी मल आयात भएको भन्दै सरकारले दिएका अनुदान रकममा कुनै किसिमको घोटाला भएको भनी प्रमाणसहित कसैले मन्त्रालयलाई जानकारी गराउँदा मन्त्रालयले कारबाही गर्ने बताउनुभयो ।

उहाँले कृषि अर्थतन्त्रको मेरुदण्ड र आमनागरिकको जिउने अाधार भएको भन्दै कृषिमा देखिएको सिँचाइको प्रमुख समस्यालाई समाधानका लागि चुरेको फेदीबाट पूर्व–पश्चिम नहर निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले चुरे र मधेश मरुभूमिकरण हुन लागेकाले त्यसलाई जोगाउन चुरेको दोहन रोक्नुको साथै हाम्रा नदीनालामा भएका पानीलाई जोगाउनुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा गएको वर्षमा ८ प्रतिशतले धानको उत्पादनमा वृद्धि भए पनि डेढ लाख मेट्रिक टन धान अझै पनि बाहिरबाट आयात भइरहेको बताउनुभयो । फरक प्रसङ्गमा मन्त्री भुसालले नेपाली काँग्रेस विभाजन भएमा मात्रै सङ्घ सरकारमा प्रभाव पर्ने अन्यथा कोसी प्रदेशको प्रभाव सङ्घ सरकारमा नपर्ने दाबी गर्नुभयो । 

समाजवादी प्रेस सङ्गठनको धनुषा अध्यक्ष अकुल साहको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द न्यौपाने, नेकपा (एस) का स्थायी कमिटी सदस्य शत्रुधन महतो, जिल्ला सचिव राजकुमार यादव, समाजवादी प्रेस सङ्गठनका मधेश प्रदेश अध्यक्ष प्रवीण साह सहितकाको उपस्थिति थियो ।