अर्जुन काफ्ले
स्याङ्जा, असोज २७ गते । चाडपर्व नजिकिँदै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जिल्लाको चार स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ । जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख प्रवीण आचार्यले राजमार्ग तथा भित्री सडकमा यात्रा गर्ने यात्रुको सहजतालाई लक्षित गरी सहायता कक्ष स्थापना गरेको हो ।
सिद्धार्थ राजमार्गको स्याङ्जा राम्दीखण्डको फेदीखोला, पुतलीबजार, वालिङ र गल्याङगरी चार ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । यात्रुको सहज आवत–जावत, सवारी चाप व्यवस्थापन तथा चाडपर्वलाई दुर्घटनारहित बनाउने उद्देश्यले यात्रु सहायता कक्षको स्थापना गरेको आचार्यले बताउनुभयो ।
यात्रु सहायता कक्षमा खटिएको टोलीले तोकिएको भाडादरभन्दा बढी भाडा लिए नलिएको, लामो दूरीका सवारी साधनमा दुईजना चालक भएनभएको चेक गर्ने, भाडादर टाँस्न लगाउने र विश्राम गर्न चाहनेलाई विश्रामको व्यवस्था गरिएको आचार्यले बताउनुभयो ।
सवारी साधनको क्षमताभन्दा बढी यात्रु राख्ने, टिकटमा कालोबजारी गर्ने र यात्रुलाई गन्तव्यमा नलगी बाटोमै अलपत्र पार्नेजस्ता कामको निगरानी गरिने ट्राफिक प्रहरीले जनाएको छ । सवारी सधानमा आएका चालक सहचालक र यात्रुलाई रोकेर सचेतना समेत जगाउने काम गरिने र यात्रु सहायता कक्ष दीपावलीसम्म रहने बताइएको छ ।