• ६ जेठ २०८१, आइतबार

शिक्षण अस्पताल बनाउन लगानीको खोजी

blog

शिक्षण अस्पताल निर्माणका लागि प्रस्तावित क्षेत्र आठविस नगरपालिका–३ जाक्सी । तस्बिर : रजनी योगी

रजनी योगी
सुर्खेत, असोज २७ गते ।
 शिक्षण अस्पताल निर्माणका लागि बाह्य लगानी जुटाउन आवश्यक छलफल र पहल थालिएको छ । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि लगानी जुटाउन पहल भइरहेको हो ।

चार वर्षअघि आठबिस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच भएको सम्झौताअनुसार एक सय शय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । सरकारले आवश्यक बजेट विनियोजन नगर्दा अस्पताल निर्माणको काम अन्योलमा थियो । तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाह्य लगानी जुटाएर भए पनि अस्पताल निर्माणको काम थालनी गर्ने जनाएको छ ।

लगानी सुनिश्चितता नहुँदा अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन । बाह्य लगानी भित्र्याउन चीन र भारत सरकारसँग पहल थालिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले जानकारी दिनुभयो । सङ्घीय सरकारको नीति तथा कार्यक्रममा समेटिएको अस्पताल निर्माणको योजना कार्यान्वयनका लागि लगानीको खोजीका लागि पहल थालिएको हो । विभिन्न चरणमा चीन र भारत सरकारसँग आवश्यक छलफल भइरहेको रावलले बताउनुभयो । सङ्घीय सरकारले प्राथमिकता नदिँदा अस्पताल निर्माणको काम अघि बढ्न नसकेको उहाँको भनाइ छ । अस्पताल निर्माणका लागि चीन सरकार सकारात्मक देखिएको डा. रावलले जानकारी दिनुभयो । ‘‘राकम कर्णालीमा अस्पताल निर्माण गर्न चीन सरकारले चासो देखाएको छ । सोही अनुसार कागजी प्रमाण जुटाउन हामी लागि परेका छौँ,’’ उपकुलपति रावलले भन्नुभयो ।

डिपीआर संशोधन गरिने

एक सय शय्याको शिक्षण अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिने भएको छ । ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बनाउनुपर्ने भएकाले डिपीआर संशोधन गर्न लागिएको हो । यसअघि बनेको डिपीआर अस्पतालको भवन निर्माणका लागि मात्र तयार पारिएको थियो । उक्त डिपीआरमा भवन निर्माणका लागि ९० करोडको लागत अनुमान छ । नयाँ निर्माण गरिने डिपीआरमा अस्पतालका लागि निर्माण गरिने सम्पूर्ण संरचनाको लागत अनुमान हुने जनाइएको छ ।

उपकुलपति डा. रावलका अनुसार अस्पताल निर्माणका लागि बाह्य लगानी जुटाउन पहल थालिएकाले पनि डिपीआर संशोधन गर्न लागिएको हो । नयाँ डिपीआर अनुसार नयाँ लागत, थप संरचनाको समेत टुङ्गो लाग्नेछ ।

सङ्घीय सरकारको नीति तथा कार्यक्रममा अस्पताल निर्माणको योजना समेटिएको भए पनि बजेट विनियोजन भएन । चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षण अस्पताल निर्माणको योजना समेटेको सङ्घीय सरकारले बजेट भने विनियोजन गरेको छैन । सङ्घीय सरकारले स्पष्ट बजेट नतोक्दिँदा अस्पताल निर्माणको काम अघि नबढेको हो ।

चार वर्षअघि आठविस नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच भएको सम्झौताअनुसार एक सय शय्याको ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढाइएको थियो । सरकारले आवश्यक बजेट विनियोजन नगर्दा अस्पताल निर्माणको काम अन्योलमा थियो । तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाह्य लगानी जुटाएर भए पनि अस्पताल निर्माणको काम थालनी गर्ने जनाएको छ । पटक–पटक सङ्घ र प्रदेश सरकारसँग यस अस्पताल निर्माणका विषयमा छलफल गरेपनि सरकारले सुनुवाइ नगरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति रावल अस्पताल निर्माणका लागि विभिन्न क्षेत्रसँग आवश्यक छलफल र पहलमा जुटिरहेको बताउनुहुन्छ । अस्पताल निर्माणका लागि आठविस नगरपालिका– ३ जाक्सीमा ४० रोपनी जग्गा प्रतिष्ठानको नाममा पाससमेत गरिसकिएको छ ।