रमेश विश्वकर्मा
गुल्मी, असोज २७ गते । गुल्मी जिल्ला कारागारमा रहेका कैदीबन्दीको आँखा जाँच गरिएको छ । विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र तम्घासको आयोजनामा कैदीबन्दीको आँखा जाँच गरिएको हो ।
कारागारमा रहेका १०७ जना कैदीबन्दीको आँखा जाँच गरिएको छ । जसमा ९५ जना पुरुष, ११ जना महिला र १ जना आश्रित बालकको आँखा जाँच गरिएको हो । यहाँ क्षमताभन्दा बढी कैदीबन्दी छन् । कारागारमा २० जना पुरुष र पाँच जना महिला कैदीबन्दी राख्ने क्षमता रहेको छ ।
त्यस अवसरमा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले आँखा मानिसको सबैभन्दा महत्त्वपूर्ण अङ्ग भएको भन्दै आँखा उपचार केन्द्रले महत्त्वपूर्ण सेवा प्रवाह गरेको बताउनुभयो । बन्दीहरूको आँखा जाँचका लागि संस्थाले कारागारमा पुगेर आँखा जाँच गरेकोप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
संस्थाका सभापति अखिलेश्वरप्रसाद पाण्डेले दिवसको अवसरमा हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी भन्ने भावनाका साथ कारागारमा आएर बन्दीहरूको आँखा जाँच गरिएको बताउनुभयो ।
जिल्ला आँखा उपचार तथा सर्किकल सेन्टरको मातहतमा मुसिकोट नगरपालिकाको वामिटक्सार, चन्द्रकोट गाउँपालिकाको शान्तिपुर, मालिका गाउँपालिको सिमलटारी र मदाने गाउँपालिकाको पुर्कोटदहमा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।