• ११ मंसिर २०८१, मङ्गलबार

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

blog

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुहुँदै शक्ति समूहका लुम्बिनी संयोजक निर्मला पौडेल र वडाअध्यक्ष तरुण बज्राचार्य । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, असोज २७ गते । 
नेपालगञ्जका सामुदायिक विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शक्ति समूहले विद्यालय छाडेका र छोड्न सक्ने विद्यार्थीलाई कपी, कलम, पोसाक, जुत्ता, झोलासहितको उक्त शैक्षिक सामग्री सहयोग गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका ५ वटा विद्यालयका गरिब, विपन्न परिवारका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको शक्ति समूह लुम्बिनी प्रदेश संयोजक निर्मला पौडेलले जानकारी दिनुभयो ।

नेपालगन्ज उपमहानगरपालिका–१२ का वडाध्यक्ष तरुण बज्राचार्य र शक्ति समूहका प्रदेश संयोजक पौडेलले शुक्रबार एक कार्यक्रमकाबीच विद्यार्थीलाई उक्त शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

धम्बोझी उमावि, फुल्टेक्रा मावि, शारदा निमावि गडरियनपुर्वा, नेरामावि कण्ठिपुर र नेराआवि जयसपुरका २५ जना विद्यार्थीलाई सहयोग गरिएको हो ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै वडाध्यक्ष बज्राचार्यले विद्यार्थीलाई विद्यालयमा पहुँच वृद्धिका लागि शक्तिले गरेको सहयोगको चर्चा गर्नुभयो ।

उहाँले यस्ता कार्यक्रम स्थानीय सरकारले आफैँ गर्नुपर्ने भए पनि सामाजिक संघसस्थाले समेत सहयोगी भूमिका खेलेर सघाइरहेको बताउनुभयो ।

शिक्षाको पहुँचबाट कुनैपनि बालबालिका विमुख नहुने वातावरण निर्माणका लागि सबैको साथ र सहयोग रहनुपर्ने भन्दै वडाध्यक्ष बज्राचार्यले शिक्षा क्षेत्रमा आगामी दिनमा बजेट तथा कार्यक्रम बढाउने बताउनुभयो ।

विद्यालय पहुँच वृद्धि, निरन्तरता, गुणस्तरीय शिक्षा प्रवर्द्धनसँगै मानव बेचबिखनबारे व्यापक जनचेतना फैलाउने काम शक्तिले गरेको प्रदेश संयोजक पौडेलले जानकारी दिनुभयो । यही स्वरूपको कार्यक्रम नेपालगन्ज, कास्की र काठमाडौँमा समेत लागू भएको उहाँले बताउनुभयो ।

अपरेसन अण्डरग्राण्ड रेल रोड (ओयूआर) परियोजनाअन्तर्गत शक्ति समूहले ‘नाकाबाट उद्धार तथा संरक्षण पाथ परियोजनाअन्तर्गत’ यी विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो ।

गतवर्ष यही परियोजनाअन्तर्गत नेपालगन्जका हनुमान आधारभूत विद्यालय, जमुनाहा, आदर्श मावि, राँझा, कन्या मावि, सल्यानीबंगला, महेन्द्र मावि, भवानीयापुर र जगतज्योती मावि, बसुदेवपुरका २५ जना विद्यार्थीलाई समेत शक्ति समूहले सहयोग गरिसकेको छ । यी ५ वटा विद्यालयलाई दुई–दुई थान कम्प्युटर समेत प्रदान गरिसकेको छ ।

सोही दौरान हाम्रो आवाज मानव बेचबिखन मुक्त समाज भन्ने मूल ध्ययका साथ काम गरिरहेको शक्तिले मानव बेचबिखनको बदलिँदो स्वरूप तथा अनलाइनबाट हुन सक्ने बाल यौन शोषण विषयक विद्यार्थीहरूसँग समेत अन्तरक्रिया गरेको थियो ।