• ६ जेठ २०८१, आइतबार

मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब

blog

फाइल तस्बिर ।

कर्णाली, असोज २७ गते । एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो । 

विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.नारायणप्रसाद पौडेलले स्थापना कालमा उपकुलपति प्रा.डा.पदमलाल देवकोटा र रजिष्ट्रार सह-प्रा.डा.ठगेन्द्रप्रसाद गिरी हुँदाका बखत आव २०६८/६९ मा ८३ लाख ९८ हजार तथा आव २०७८/७९ सम्ममा एक अर्ब १२ करोड ५७ लाख पुगेको बताउनुभयो ।  

“यसमा असुलउपर र सैद्धान्तिक एवम् प्रक्रियागत बेरुजु परेको छ”, रजिष्ट्रार पौडेलले भन्नुभयो । वीरबहादुर पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । उहाँले असुलउपर गर्ने बेरुजुमा ६३ लाख ६६ हजार ९६४ मा केही प्रतिशत मात्र असुल भएको बताउनुभयो ।

रजिष्ट्रार पौडेलका अनुसार १२ करोड ४० लाख ५१ हजार बेरुजु सम्परीक्षण गरिएको छ । अझै करिब एक अर्ब बेरुजु विश्वविद्यालयले फछ्र्यौट गर्न बाँकी छ । आर्थिक वर्ष २०७५/७६ मा उपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार डा.महेन्द्रकुमार मल्लको पदावधिमा सबैभन्दा बढी ४० करोड ५९ लाख ६० हजार (३६.०४) प्रतिशत बेरुजु आएको उहाँले बताउनुभयो ।

यहाँ असुलउपर गर्नुपर्ने बेरुजु पनि रहेको उहाँको भनाइ थियो । विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले करिब १३ वर्षको बेरुजुलाई सबै आफ्नो पालामा गरेकोजस्तो गरेर सामाजिक सञ्जाल तथा समाचार माध्यमबाट आएपछि त्यसको भ्रम हटाउन पत्रकार सम्मेलन कार्यक्रम गरिएको बताउनुभयो । रासस