• १३ फागुन २०८०, आइतबार
blog

अर्घाखाँची, असोज २७ गते । अर्घाखाँचीको प्रख्यात सुपा देउराली मन्दिर । सुपा देउराली देवीको मूर्ति पहिले भैसीभेला पहाडको फेदी अर्थात् सुपा खोलाको भिरमा रहेको थियो । त्यति बेला शिलालाई सुपा देउराली देवी मानी विशेष गरी त्यस भेगका लाहुरेहरू आवतजावत गर्दा उक्त देवीलाई दक्षिणा मात्र चढाइने गरिन्थ्यो र यस देवीमा त्यति बेला कुनै पनि किसिमको विशेष पूजा अर्चना गर्ने चलन थिएन।

हाल सुपा देउराली देवीको मन्दिर शितगंगा नगरपालिका २ र सन्धिखर्क नगरपालिका ७ को सिमाना सुपा देउरालीमा पर्दछ । यो मन्दिर पूर्व पश्चिम राजमार्गको कपिलवस्तु जिल्लाको गोरुसिङ्गेबाट उत्तरतर्फ ४९.२ किलोमिटरको दुरीमा दाहिनेतर्फ सुपा खोलाको उच्च भागमा रहेको छ। मन्दिरको दुवैतर्फ अग्ला अग्ला सुन्दर पहाडहरू रहेका छन्।


यो मन्दिर समुन्द्र सतहबाट चार हजार पाँच सय फिटको उचाइमा रहेको छ । यस मन्दिरको निर्माण वि.स. १६०० सालमा खाँचीका राजा विश्व पाल शाहले छोरी सुवर्ण कुमारीको नाममा निर्माण गर्न लगाई देवी भगवतीलाई स्थापना गरिएको कुरा उल्लेख गरिएको छ। 

प्राकृतिक सम्पदाले भरिपूर्ण यो मन्दिर प्यागोडा शैलीको निकै नै कलात्मक र आकर्षक रहेको छ। यस मन्दिरमा सुपा देउराली देवी लगायत गणेश, नवदुर्गा महाकाली, महालक्ष्मी, शिव लगायत विभिन्न देव देवताहरूको मूर्तिहरू रहेका छन्। 

यस जिल्ला पर्ने सिद्ध देउराली, कटटेदेउराली, खनदेउराली मध्ये यस सुपा देउरालीलाई मुख्य देवीको रूपमा मानिएको छ।

प्राचीन कालमा मनले चिताएको कुरा पुरा गर्न एक युवकले आफू लाहुरे हुन सुपा देउराली देवीलाई भाकल गरेको र मनोकामना पुरा भएपछि बिदामा घर फर्कँदा भाकल नचढाई देवीको बाटो छली भाग्न खोज्दा ती युवकको मृत्यु भएछ। देवीले भाकल गर्नेलाई भिरमा टाँसिदिएको किम्बदन्ती रहेको छ। अहिले पनि उक्त भिर यथावत् रहेको छ। जुन लाहुरे टाँसिएको भिरको नामले निकै नै प्रसिद्ध रहेको छ।

ब्राह्मण मैतीराज घिमिरेका अनुसार यस मन्दिरमा दैनिक नित्य पूजा हुने गर्दछ। यस देवीको पूजा अर्चना गर्नाले आफ्नो मनले चिताएको कुराहरू पुरा हुने जनविश्वास समेत रहेको छ। 

यस मन्दिरमा बलि दिने प्रथा समेत रहेको छ। औँसी, श्रीपंचमी, ऋषि पञ्चमी, कृष्ण जन्माष्टमी, एकादशी, राम नवमी र अक्षय तृतीयाका दिन बलि चढाइँदैन।

घिमिरेका अनुसार यस मन्दिरमा शनिवार लगायत विभिन्न पर्व र विजयादशमीमा भक्तजनहरूको अत्यधिक भिड हुने गर्दछ।  यस देवीको पूजा अर्चना गर्न नेपालका विभिन्न स्थल लगायत छिमेकी राष्ट्र भारतका विभिन्न स्थानबाट भक्तजनहरू आउने गर्दछन्।


प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको यस स्थल पर्यटकीय दृष्टिकोणले निकै नै महत्त्वपूर्ण समेत रहेको छ। पर्यटकहरूले दृश्यावलोकन गर्नको लागि पहाडको उच्च भागमा सस पेन्सन ब्रिज डिभिजन कार्यालयले २०७८ सालमा २७२.८५ मिटर लामो झोलुगें पुलको समेत निर्माण गरिदिएको छ। 


Author
राजेश ढुंगाना

ढुंगाना गोरखापत्र संस्थानका पूर्व प्रमुख फोटो सम्पादक तथा हाल स्वतन्त्र फोटो पत्रकार हुनुहुन्छ ।