केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, असोज २६ गते । काभ्रेपलाञ्चोक जिल्लामा करिब ७० हजार घरधुरीले कृषि पेसा अँगालेको पाइएको छ । हालै सार्वजनिक भएको ‘राष्ट्रिय कृषि गणना २०७८’ को तथ्याङ्क अनुसार जिल्लाका कुल घरपरिवारमध्ये ७६.५ प्रतिशत अर्थात् ६९ हजार ९४१ घरपरिवार कृषि पेसामा आबद्ध छन् ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार काभ्रेपलाञ्चोक जिल्लामा कुल घरपरिवारको सङ्ख्या ९१ हजार ४२८ रहेको छ । तथ्याङ्क अनुसार जिल्लाका १३ वटा स्थानीय तहमध्ये पनौती नगरपालिकामा सबैभन्दा धेरै नागरिक कृषि पेसामा संलग्न रहेको देखिएको छ । तथ्याङ्क अनुसार पनौती नगरपालिकामा नौ हजार ३८३ घरपरिवार कृषि पेसामा संलग्न छन् । त्यसै गरी पाँचखाल नगरपालिकामा सात हजार ८४६ घरपरिवार, मण्डनदेउपुर नगरपालिकामा सात हजार ५५३ घरपरिवार, नमोबुद्ध नगरपालिकामा छ हजार २९७ घरपरिवार, बनेपा नगरपालिकामा छ हजार ४०२ घरपरिवार, रोसी गाउँपालिकामा पाँच हजार ६३० घरपरिवार कृषि पेसामा आबद्ध रहेका छन् ।
त्यस्तै जिल्लाको धुलिखेल नगरपालिकाभित्र पाँच हजार २९१ घरपरिवार, चौँरीदेउराली गाउँपालिकामा चार हजार १३० घरपरिवार, भुम्लु गाउँपालिकामा चार हजार ६४ घरपरिवार, तेमाल गाउँपालिकामा चार हजार ६९६ घरपरिवार, बेथानचोक गाउँपालिकामा तीन हजार ४८३ घरपरिवार, महाभारत गाउँपालिकामा तीन हजार १५२ घरपरिवार र जिल्लाको खानीखोला गाउँपालिकामा दुई हजार ३१५ घरपरिवार प्रत्यक्ष रूपमा कृषि पेसामा आबद्ध रहेको तथ्याङ्कले देखाएको छ ।
तथ्याङ्क अनुसार कृषि पेसामा आबद्ध रहेका कुल घरपरिवारमध्ये पशुचौपाया पाल्ने घरपरिवारको सङ्ख्या ५८ हजार १९६ रहेको छ । जिल्लामा कृषि पेसामा आबद्ध रहेका घरपरिवारमा २५ हजार ८०४ वटा गाई, ५४ हजार ५१६ वटा गोरु, २७ हजार ७२२ वटा राँगा, ५८ हजार ५०५ वटा भैँसी, ४८ हजार ६४४ वटा च्याङ्ग्रा, तीन लाख १५ हजार ९६ वटा बाख्रा पालेका छन् । त्यस्तै जिल्लामा ४०६ वटा भेडा, दुई हजार ३४३ वटा सुँगुर, आठ हजार ४०३ वटा बङ्गुर, ३५८ वटा अन्य पशु, ११ लाख ८१ हजार १३१ वटा कुखुरा र दुई हजार ९४८ अन्य पन्छी पालिएको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्क अनुसार जिल्लामा कृषि पेसामा संलग्न रहेका घरपरिवारले ३५ हजार ३५७.७ हेक्टर जमिनमा खेतीपाती (कृषि चलन) गरेका छन् भने ६९ हजार ७१६ घरपरिवारसँग २६ हजार ६८३.८ हेक्टर खेतीयोग्य जमिन रहेको छ ।
कृषि पेसामा आबद्ध घरपरिवारमध्ये ६९ हजार ७०४ घरपरिवारले २४ हजार ९७०.१ हेक्टर जमिनमा अस्थायी बाली, १८ हजार ७४० घरपरिवारले दुई हजार ४७७.२ हेक्टर जमिनमा स्थायी बाली लगाएका छन् । यसै गरी कृषि पेसामा आबद्ध घरपरिवारले एक लाख ९५ हजार १९३ कित्तामा खेती गर्दै आएकामा सात हजार ७१४.१ हेक्टर जमिनमा सिँचाइको सुविधा रहेको तथ्याङ्कले देखाएको छ ।