• १२ असार २०८१, बुधबार

नेपालको दूरसञ्चार सेवा शुल्क महँगो छैन : निमित्त प्रबन्ध निर्देशक अर्याल

blog

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)का निमित्त प्रवन्ध निर्देशक संगीता पहाडी अर्याल । फाइल तस्बिर

काठमाडौं, असोज २५ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले दूरसञ्चार सेवा शूल्क महँगो भयो भन्ने विषय  सान्दर्भिक नभएको बताउनुभएको छ ।

सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा नेपाल टेलिकमको विषयमा समितिलाई जानकारी दिनुहुँदै निमित्त प्रबन्ध निर्देशक अर्यालले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा दूरसञ्चार सेवा नेपाल टेलिकमले एसियाको दोस्रो सस्तोमा सेवा दिने संस्था पर्ने बताउनुभयो । उहाँले सबैभन्दा सस्तो भारतमा ०.१७ डलर पति जीवी छ भने नेपालमा ०.२ डलरप्रति जीवी रहेको दाबी गर्नुभयो ।

निमित्त प्रबन्ध निर्देशक अर्यालले भारतपछिको सस्तो दूरसञ्चार सेवालाई महँगो भन्ने कुरा सान्दर्भिक नभएको जिकिर गर्नुभयो । उहाँले विश्वमा हेर्दा पनि नेपाल टेलिकमले नेपालीहरूलाई दूरसञ्चार सेवा भारतपछि सस्तोमा सेवा दिइरहेको बताउनु भयो । उहाँले २०७३ सालमा प्रति क्षमता ३७.२५ नेपाली रुपियाँ थियो भने २०७८/८९मा आउँदा १९.६९ पैसा रहेको बताउनु भयो ।

उहाँले चार वर्षमा ३७.२५ पैसाबाट घटेर १९.६९ रुपियाँमा झरेको उल्लेख गर्नुभयो । उहाँले २०७३ सालमा ७४ पैसा थियो भने अहिले प्रति एमडी डाटा ५ पैसामा झरेको भन्दै टेलिकमले दूरसञ्चार सेवाको लागतलाई निरन्तर रूपमा कम गर्दै आइरहेका बताउनुभयो ।

अर्यालले नेपाल टेलिकमले सरकारलाई अहिलेसम्म कुनै पनि बक्यौता रकम तिर्न बाँकी नरहेको बताउनुभयो । उहाँले जिएसएम मोबाइल लाइसेन्सको २०८१ वैशाखमा समाप्त हुने भन्दै यो विषयमा अहिलेसम्म कुनै पनि निर्णय नभइसकेकाले निर्णय भएपछि त्यही अनुसार बक्यौता रकम बुझाउने बताउनुभयो । उहाँले दूरसञ्चार सेवा शुल्क बढाउनेभन्दा पनि निरन्तर रूपमा कम गर्दै लगेकाले पनि टेलिकमको राजश्व कम भएको बताउनु भयो ।

उहाँले टेलिकमको एडिएसएल प्रविधिमा ल्यानलाइन फोनहरू अहिले धेरै ग्राहकहरूले प्रयोग गर्ने भएकाले त्यसबाट पनि राजश्व कमी भएको बताउनु भयो । उहाँले इन्टरनेट सेवा २०७३ साल अघिसम्म नेपाल टेलिकम मात्रै थियो अहिले बढेर ४० बढी पुगेको भन्दै टेलिकमलाई आउने पैसा सबैमा बाँडिदा टेलिकमको राजश्व कम भएको बताउनुभयो ।