• १८ वैशाख २०८१, मङ्गलबार

सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनुहुँदैन : सांसद केसी

blog

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा मन्तव्य राख्दै नेका सांसद अर्जुननरसिंह केसी । तस्बिर : रत्न श्रेष्ठ/ रासस

काठमाडौं, असोज २५ गते । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता तोडिन दिनु नहुने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै सांसद केसीले देशमा सामाजिक सद्भाव र सहअस्तित्वमा विचलन आइरहेको भन्दै यसप्रति सजग हुनुपर्ने बताउनुभएको हो । उहाँले एकपछि अर्को गरी अन्र्तजातिय सद्भावना र धार्मिक सहिष्णुता तोड्ने काम भइरहेको भन्दै यसलाई तोड्न दिनु नहुने बताउनुभयो ।

सांसद केसीले अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता नेपालको राष्ट्रिय गौरवको विषय भएको बताउनु भयो । उहाँले नेपाली संस्कृतिमा विचलन आउन दिनु नहुने जिकिर गर्नुभयो ।  सांसद केसीले अराजकताको विरुद्धमा अराजकताले नै प्रतिरोध गर्नु नहुने बताउनुभयो ।

‘‘सामाजिक सद्भावना र सहअस्तित्व एकपछि अर्को विचलनमा जाँदैछ । अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता हाम्रो राष्ट्रिय संस्कार संस्कृति हो । त्यसलाई तोडिने काम एकपछि अर्को हुँदै गइरहेको छ । अन्तरजातीय सद्भावना र धार्मिक सहिष्णुता नेपालको सबभन्दा राष्ट्रिय गौरवको विषय थियो । त्यसमा विचलन आएको छ । नेपाली जनताको संस्कार र संस्कृति विविधता बिचको एकता हाम्रो संस्कृति हो ।,’’ सांसद केसीले भन्नुभयो, ‘‘त्यो संस्कृतिमाथि जब विचलन आउँछ, त्यसपछि संस्कार, सरकार सबै पतनको दिशातर्फ जान्छ भन्ने कुरा सरकारले बुझ्नै पर्छ । सम्पूर्ण राजनीतिक दलहरूले गम्भीर भएर बुझ्नुपर्ने आवश्यकता छ । अराजकताको विरुद्धमा अराजकता नै त्यसको प्रतिरोध होइन । कसैले कालोमोसो दल्छु भन्यो र उसैलाई कालोमोसो दल्नु पनि त्यो हाम्रो संस्कार र संस्कृतिको कुरा होइन । त्यसकारणले उत्तेजना होइन चेतना फैलाउने र आवेग होइन विवेकले काम गर्ने परम्परा टुट्दै गएको छ त्यतातिर सम्पूर्णले एकीकृत भएर लाग्नुपर्ने अहिलेको आवश्यकता हो । सरकारको ध्यानाकर्षण गराउँदछु ।’’

उहाँले महँगीले जनताको चुल्हो नै नबल्ने स्थिति आएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।