बाबुराम देवकोटा
सिन्धुलीमाढी, असार २२ गते । सिन्धुली जिल्लामा चुरे क्षेत्रमा हुने भूक्षय तथा नदी कटान नियन्त्रणका लागि चुरे उत्थानशील आयोजना प्रभावकारी बनेको छ ।
कमला नदी जलाधार क्षेत्र संरक्षण गर्ने उद्देश्यले सञ्चालित उक्त आयोजना चुरे क्षेत्रमा हुने भूक्षय र नदी कटान रोकथामका लागि प्रभावकारी बनेको हो । संयुक्त राष्ट्रसङ्घको सहयोगमा चुरे उत्थानशील आयोजना जङ्गल, जमिन र जल संरक्षण गर्ने उद्देश्यले जिल्लाका दुधौली नगरपालिका, कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिकामा विगत पाँच वर्षदेखि सञ्चालन भइरहेको छ ।
विभिन्न स्थानमा सञ्चालित उक्त आयोजना अन्तर्गत चुरे क्षेत्रका विभिन्न ठाउँमा खोल्सा र झोरामा बाँसको छेकाबार, तारजाली भरेर बाँध, संरक्षण पोखरी, झाडी सरसफाइ गरी बिरुवा संरक्षणलगायतका काम भइरहेको खोल्साखोल्सीका स्थानीयले जनाएका छन् । उक्त आयोजनाले स्थानीयसँग सहकार्य गरी काम गरिरहेको कमलामाई नगरपालिका–८ का अध्यक्ष कोमलकुमार श्रेष्ठ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “वडाबाट हुन नसकेको काम उक्त आयोजनाबाट भइरहेको छ । यस वडामा कमला नदीको सहायक जलाधार क्षेत्र खहरेको कटानबाट असुरक्षित बस्ती संरक्षण, बाढी नियन्त्रणका लागि छेकाबाँध, सुक्खा पोखरी निर्माणलगायतका काम भएका छन् । त्यसले कमलो भूवनोट रहेको चुरे जङ्गलको ढुङ्गा, माटो, गिट्टी र बालुवा बचाउन सहयोग पुगेको छ ।”
उक्त आयोजना संयुक्त राष्ट्रसङ्घको आर्थिक (ग्रिन क्लाइमेट फन्ड) सहयोगमा कोशी, मधेश र बागमती प्रदेशमा सञ्चालन भइरहेको छ । बागमती प्रदेशको पनि सिन्धुली जिल्लामा कमला नदीको जलाधार क्षेत्र अन्तर्गत आर्थिक वर्ष २०७८÷७९ देखि सात वर्षका लागि कमलामाई नगरपालिका, दुधौली नगरपालिका र तीनपाटन गाउँपालिकामा सञ्चालन हुँदै आएको छ । सुरुको दुई वर्ष योजना बनाउने प्रारम्भिक चरणमा बितेको र त्यसपछि योजना कार्यान्वयन भइरहेको आयोजनाले जनाएको छ ।
उक्त आयोजनाका प्रमुख चूडामणि खतिवडाले छेकड्याम बनाई माथि (मुहान) बाटै चुरेको माटो, ढुङ्गा र बालुवालाई रोक्ने र सङ्लो पानी बग्न दिने आयोजनाको उद्देश्य रहेको उहाँले जानकारी दिनुभयो । उहाँले आयोजना स्थानीयसँगको सहकार्यमा प्रभावकारी ढङ्गले कार्यान्वयन भइरहेको चर्चा गर्दै कमला नदीको जलाधार क्षेत्र संरक्षण गर्ने कार्य भइरहेको बताउनुभयो ।
जिल्लामा यो वर्ष प्राकृतिक पुनर्उत्पादन सहयोगसम्बन्धी ६० वटा योजना सञ्चालन भएका छन् । तीमध्ये वन कार्ययोजना सहयोगका २४ वटा, नदी किनारा स्थिरीकरण तथा गल्छी नियन्त्रणका २८ वटा, संरक्षण पोखरी चार वटा र छेकबाँध चार वटा रहेका आयोजनाका योजना तथा अनुगमन अधिकृत प्रलेश बस्नेतले जानकारी दिनुभयो । चुरे संरक्षणसम्बन्धी तालिम, गोष्ठी, कृषक पाठशाला, नर्सरी, वृक्षरोपण जस्ता गतिविधि भइरहेको उहाँको भनाइ छ ।
जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामाले आयोजनाले चुरे क्षेत्रमा हुने भूक्षय तथा खहरे नियन्त्रणका लागि शिरबाट रोक्दै नियन्त्रण गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त कार्य प्राविधिक हिसाबले राम्रो र वैज्ञानिक पनि लाग्यो ।”