• २१ वैशाख २०८१, शुक्रबार

एमाले कार्यकर्ताद्वारा हवाई सुरक्षा गम्भीर उल्लङ्घन

blog

काठमाडौँ, असोज २५ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वागतमा एमाले कार्यकर्ताबाट हवाई सुरक्षाको गम्भीर उल्लङ्घन भएको छ । एमाले मधेश प्रदेशको अधिवेशन उद्घाटनका लागि बुधबार काठमाडौँबाट यति एयरलाइन्सको जहाजमार्फत जनकपुर पुग्नुभएका अध्यक्ष ओलीलाई स्वागत गर्न कार्यकर्ता जहाजको ढोकासम्मै पुगेका हुन् । 

विशिष्ट अतिथिलाई स्वागत तथा बिदाइ गर्न भिआइपी कक्ष र धावन मार्ग बाहिरसम्म पाँच जनासम्म मात्र जान पाउने नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम उल्लङ्घन गर्दै एमाले कार्यकर्ता सुरक्षा घेरालाई चुनौती दिएर विमानस्थलको धावन मार्गसम्मै प्रवेश गरेका हुन् ।

विमानस्थलभित्र सर्वसाधारण र बोर्डिङ पास नभएका यात्रुलाई समेत उक्त क्षेत्रमा जान अनुमति नहुने भए पनि बुधबार भने बोर्डिङ पास नभएका दलका कार्यकर्ता हवाई सुरक्षाको हिसाबले संवेदनशील क्षेत्रमै प्रवेश गरेका हुन् ।

यसअघि गत वर्ष चैत २७ गते नेपालगन्ज विमानस्थलमा पनि अध्यक्ष ओलीको स्वागत गर्ने क्रममा कार्यकर्ता बुद्ध एयरको ढोकैमा पुगेका थिए । हवाई सुरक्षालाई चुनौती दिँदै कार्यकर्ता धावन मार्गसम्म प्रवेश गरे पनि त्यस बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको सुरक्षामा कडिकडाउ गर्न निर्देशनसहितको देशभरका सबै विमानस्थलाई परिपत्र गरेको थियो ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पटक पटक कार्यकर्ता जहाजको ढोकैसम्मै पुग्नु हवाई सुरक्षाको गम्भीर उल्लङ्घन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बुधबारको घटना हवाई सुरक्षको दृष्टिकोणले अत्यन्तै संवेदनशील विषय हो । अनुमति नभएका व्यक्ति उक्त निषेधित क्षेत्रमा के कसरी प्रवेश गरे भन्नेबारे जनकपुर विमानस्थल कार्यालयलाई जवाफ मागेका छौँ । पत्रको जवाफ आएपछि विमानस्थलको सुरक्षामा थप कडाइ गर्नेबारे प्राधिकरणले निर्णय गर्ने छ ।”

जनकपुर विमानस्थल प्रमुख भीमदत्त पन्तका अनुसार एमाले अधिवेशनको लागि शीर्ष नेताहरू जनकपुर पुग्ने भएपछि बुधबार बिहानैदेखि विमानस्थल परिसरमा कार्यकर्ताको भिड जम्मा भएको थियो । उहाँले भन्नुभयो, “बिहान एमाले उपाध्यक्ष ईश्वर पोखरेल विमानस्थलमा पुग्दासमेत कार्यकर्ताले सुरक्षा घेरा नाघेर भित्र प्रवेश गर्न खोजेका थिए । पछि अध्यक्ष ओलीसहित थप १० जना विशिष्ट अतिथि जनकपुर पुग्ने भएपछि विमानस्थलमा थप सुरक्षाको प्रबन्ध मिलाइए पनि सुरक्षा निर्देशनलाई तोड्दै कार्यकर्ता जबरजस्ती विमानस्थलभित्र प्रवेश गरेका हुन् ।”

सुरक्षाकर्मीले छेक्छाछेक्दै पूर्वमन्त्री, सांसद, नगरप्रमुख, पूर्वप्रमुखलगायत भित्र प्रवेश गरेका र जहाजका यात्रुसमेत सँगै उपस्थित रहेकाले भिड बढी देखिएको उहाँको भनाइ छ । अध्यक्ष ओलीलगायत काठमाडौँ फर्किने समयमा भने सीमित व्यक्तिलाई विशिष्ट कक्षमा प्रवेश गर्न दिइएको बताउँदै हवाई सुरक्षाको उल्लङ्घन भएको विषयमा सुरक्षा निकाय र हवाई कम्पनीसँग छलफल भएको उहाँले बताउनुभयो ।

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विमानस्थलको सुरक्षा संवेदनशीलतालाई एमालेले सदैव सम्मान गर्ने र त्यसलाई पालना गर्ने बताउनुभयो । उहाँले जनकपुरमा अध्यक्षलाई स्वागत गर्न जाने नेतृत्व दोषी भएको र अध्यक्षको केही गल्ती नभएको प्रस्ट पार्नुभयो ।