• ४ पुस २०८१, बिहिबार

जनताप्रति जवाफदेही हुन सरकारलाई अध्यक्ष ओलीको आग्रह

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मासहित कार्यक्रममा सहभागी नेताहरु । तस्बिर : धर्बेन्द्र झा

 धर्बेन्द्र झा 

धनुषा, असोज २४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको वर्तमान सरकारलाई जनताप्रति जवाफदेही बन्न आग्रह गर्नुभएको छ । 

नेकपा (एमाले) मधेश प्रदेशको बुधबारदेखि जनकपुरधाममा सुरु भएको प्रथम प्रदेश अधिबेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताको जनजिविकासँग जोडिएका वस्तुको मुल्य दिन प्रतिदिन अकाशिंदै गएको र यसले नेपाली जनताको जनजिवनमा असर पर्दा पनि सरकारले जवाफदेही ढंगवाट काम गर्न नसकेको बताउनुभयो । 


उहाँले इजरायलमा फसेका नेपाली विद्यार्थीसहित आमनागरिकलाई उद्धारगरी राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो । अध्यक्ष ओलीले देश र मधेशको विकासका लागि एमालेको पूर्ण बहुमतको सरकार आवश्यक भएको बताउनुभयो ।

त्यसका लागि एमालेले मिसन ८४ को शुरुवात गरिसकेको बताउनुभयो । उहाँले हरेक वडामा एमाले कम्तिमा ५१ प्रतिशत हुनेगरी अभियानमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । 

मधेश प्रदेशको प्रमुख पार्टी एमाले भए पनि सरकार बनाउने सिट नपुगेकाले आउने निर्वाचनमा स्पष्ट बहुमत दिन आग्रह गर्नुभयो । उहाँले विगतमा आफु नेतृत्वको सरकारको कामकाज देखेर विरोधीले विभिन्न षडयन्त्र गरे पनि एमाले पहिलो शक्तिको रुपमा जनताको माझ रहेको उहाँको भनाइ छ ।


आन्तरिक एकता र विरोधीसँग प्रतिस्पर्धा गरी एमालेका नेता कार्यकर्ताले दृढतापूर्वक एकतावद्ध ढंगले अगाडि बढनुपर्ने उहाँले बताउनुभयो । एमाले नेतृत्वको सरकारले मात्र देशको समृद्धि कायम गर्न सक्ने भन्दै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक बनाउने प्रतिवद्धता जनाउनुभयो । 

कार्यक्रममा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाललाई समृद्ध बनाउन मधेशलाई समृद्ध बनाउन जरुरी रहेको बताउनुभयो । त्यसका लागि एमालेका सरकार आवश्यक भएको उहाँको भनाइ छ । एमालेको बहुमत नभएको खण्डमा देशमा राजनीतिक स्थायित्व कायम नहुने भन्दै अगामी निर्वाचनमा एमालेलाई बहुमत दिन उहाँले आग्रह गर्नुभयो । 


कार्यक्रममा महासचिव शंकर पोखरेलले देशको विकासका लागि भिजन प्रस्तुत गर्ने पार्टी एमालेमात्र भएको बताउनुभयो । एमाले नेतृत्वको सरकारका लागि मधेश प्रदेशले निर्णायक हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । 

मुलुकमा राजनीतिक अस्थिरता र समाजिक अराजकता फैलिएको र यसबाट मुक्तिका लागि एमाले बलियो हुनु नै एकमात्र विकल्प भएको बताउनुभयो । कार्यक्रममा एमालेका मधेश इन्चार्ज योगेश भटट्राई, कोसी इन्चार्ज रघुवीर महासेठ, धनुषा इन्चार्ज लिलानाथ श्रेष्ठ, महोत्तरी इन्चार्ज जुलीकुमारी महतोसहितले धारणा राख्नुभयो ।


‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार’ मुलनाराका साथ आजदेखि सुरु भएको प्रदेश अधिबेशनमा एक हजार २७ जना प्रतिनिधिको सहभागिता रहेको छ । अधिबेशनको बन्दसत्र आज रातिदेखि नै सुरु गर्ने तयारी गरिएको प्रदेश अध्यक्ष रामअवतार यादवले बताउनुभयो ।