• १३ मंसिर २०८१, बिहिबार

महँगीले जनताको चुलो बल्न मुस्किल भयो : नेता सुवाल

blog

पत्रकार सम्मेलनमा नेमकिपाका सचिव तथा संघीय सांसद प्रेम सुवाल । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, असोज २४ गते । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधि सभा सदस्य प्रेम सुवालले बजार महँगीले नागरिकको चुलो बल्न बन्द हुने अवस्थामा पुगेको बताउनुभएको छ । 

उहाँले दैनिक बढिरहेको बजार मूल्यका कारणले गरिब नागरिकको चुलो बल्न बन्द हुने भयानक परिवेशमा मुलुक पुग्न लागेको बताउनुभएको हो । नेपाल मजदुर किसान पार्टी कालीकोटले मान्ममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सुवालले दैनिक उपभोग्य बस्तुको मूल्य बढाउने र पेट्रोलियम पदार्थको मूल्यमा मनोमानी भइरहँदा सरकार लाचार बनेको आरोप लगाउनुभयो ।

दैनिक भ्रष्टाचार मौलाउनु, बजार मूल्य आकासिनु, सुन तस्करजस्ता अपराध बढ्दैजाँदा सरकार लाज नमानेर सिंहदरबारमा आसीन भएको भन्दै थोरै नैतिकता भएमा सरकारमा बस्ने अवस्था नभएको सुनाउनुभयो ।  

सबैभन्दा बढी सुन तस्करी वर्तमान सरकारको पालामा भएकाले यसमा सरकारको प्रत्यक्ष हात छ भनेर जसले पनि भन्ने ठाउँ रहेको बताउनुभयो । कर्णाली नामको मात्र अर्ग्यानिक प्रदेश: नेता सुवालले कर्णाली प्रदेश सरकारले अर्ग्यानिक प्रदेश घोषणा केवल कागजी रूपमा मात्र गरेको बताउनुभयो ।

नेता सुवालले बाँकी रहेको फुकोट कर्णाली हाइड्रो प्रधानमन्त्रीले भारतलाई जिम्मा दिएको जानकारी दिनुभयो । भारत भ्रमणका बेला कर्णाली बेचेर मुर्रा राँगा ल्याएको भन्दै उहाँले सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउनुभयो ।