• २६ वैशाख २०८२, शुक्रबार

जनतासँग जोडिन समाजवादी अभियान : अध्यक्ष नेपाल

blog

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित सो दलका नेताहरु तस्बीर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, असोज २४ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालमा समाजवादी आन्दोलन सफल भएमात्रै मुलुकले आर्थिक विकास हासिल गर्ने बताउनुभएको छ । 

पार्टीद्वारा सञ्चालित समाजवादी जागरण अभियानको ११ औँ दिनमा बाँकेको कोहलपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा  बताउनुभएको हो । 

नेकपा (एकीकृत समाजवादी) बाँकेको आयोजनामा भएको सभामा पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले भन्नुभयो, ‘नेपालमा समाजवादी आन्दोलनलाई सफल बनाउन क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकता र अपरिहार्यता छ ।’

नेपाली जनताले अहिले खेप्नु परिरहेको समस्या र समाधानका लागि सरकारलाई सचेत पार्न र ध्यानाकर्षण गराउन समाजवादी अभियान चलाइएको भन्दै अध्यक्ष नेपालले अन्याय, भेदभाव, अत्याचारमा परेका जनताको दुःख, पीडासँग जोडिन अभियान सफल भएको दाबी गर्नुभयो । 

पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले शक्तिको स्रोत नै जनता भएकाले जनतासँग जोडिन अभियान चलाइएको बताउनुभयो ।

पार्टीका महासचिव घनश्याम भुषाल, उपमहासचिव तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालगायतले समाजवादी जागरण अभियानमा जनताको उत्साहजनक सहभागिता रहेको बताउनुभयो । 

समाजवादी जागरण अभियान अन्तर्गत बाँके पुग्नुभएका अध्यक्ष नेपाल सहितको टोलीले कोहलपुरमा यहाँको उद्योगी व्यवसायी, शिक्षक, भूमिहीन किसानका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।