• ११ मंसिर २०८१, मङ्गलबार

शर्मिला थापामगर एक दिनका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य

blog

तस्बिर : कविता थापा

काठमाडौँ, असोज २४ गते । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा सिन्धुलीकी शर्मिला थापामगर एक दिनका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य बन्नुभएको छ । 

बालबालिका शान्ति क्षेत्र अभियान (सिजप) द्वारा विभिन्न संस्थाहरूसँगको सहकार्यमा बुधवार राजधानीमा आयोजित किशोरीसँग सांसद विषयक अन्तरक्रिया कार्यक्रममा सो समितिका सदस्य ईश्वरी घर्तिमगरले  बालिका शर्मिलालाई सो पद हस्तान्तरण गर्नुभएको हो । 

त्यसैगरी धनुषाकी बालिका नेहा मण्डलले गैरसरकारी संस्था महासङ्घको महासचिव पद एक दिनका लागि सम्हाल्नुभएको छ । गैरसरकारी संस्था महासङ्घका महासचिव अर्जुन भट्टराईले बालिका मण्डललाई महासङ्घको महासचिव पद हस्तान्तरण गर्नुभएको हो । “बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी” नारासहित देशभर साताव्यापी कार्यक्रमसहित मनाइरहेको छ । 

अन्तर्राष्ट्रिय बालिका दिवसको सन्दर्भमा बालिका (किशोरी) हरूलाई नेतृत्व तहको अनुभव गराउन प्लान इन्टरनेशनलले बालिकाहरूलाई विभिन्न पदमा एक दिनका लागि राख्ने कार्यक्रम अन्तरगत उहाँहरूलाई उक्त पद हस्तान्तरण गरिएको हो । 

प्रतिनिधि सभाका सदस्य ईश्वरी धर्तीमगरले आफू पनि बाल क्लबलगायतका विभिन्न पदमा रहेर स्कुल पढ्दादेखि नै सक्रिय रहने अभ्यासले नीति बनाउने ठाउँसम्म पुग्नका लागि हिम्मत मिलेको बताउँदै आगामी दिनमा देशको समृद्धिका लागि शर्मिला जस्तै थुप्रै किशोरीले नेतृत्व सम्हालेर योगदान दिने विश्वास व्यक्त गर्नुभयो । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य बन्नुभएकी सिन्धुलीकी शर्मिला थापामगरले बालबालिकाका हकका लागि स्कुल, समाजमा आवाज उठाउँदै आएकोमा यस अवसरले आफूमा निक्कै आत्म विश्वास बढाएको बताउनुभयो  ।

धनुषाकी बालिका नेहा मण्डलले गैरसरकारी संस्था महासङ्घको महासचिव पद एक दिनका लागि सम्हाल्दै विविध क्षेत्रसहित बालबालिकाको क्षेत्रमा आफूले थप जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । 

सांसद सरिता भुसालले आमाको गर्भदेखि नै विभेद खेप्दै आएका किशोरीका लागि शिक्षा, स्वास्थ्यसहित अवसर प्रदान गर्दै अगाडि बढ्न राज्य र यस क्षेत्रसँग सरोकार राख्ने संस्थाहरूको सहकार्यमा काम भइरहेकोमा नीतिगत सवालको सम्बोधनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

बालबालिका शान्ति क्षेत्र अभियानका अध्यक्ष मिना शर्माले कार्यपत्र प्रस्तुत गर्दै बेइजिङ घोषणापत्र जारी भएदेखि नै बालबालिकामा लगानीको आवाज उठिरहेको भन्दै बालबालिकाको शिक्षा, स्वास्थ्य तथा असल संस्कार र अवसरका लागि गरिने लगानीले देश विकासमा योगदान पुग्ने बताउनुभयो ।

सो अभियानका कार्यकारी निर्देशक आत्मराम थापाले बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थासँगको ऐक्यबद्धतामा एक दिनका लागि पद हस्तान्तरण र सांसदसँग छलफल कार्यक्रम गरी बालबालिकाको सवाललाई नीति निर्माण तहसम्म पुर्‍याउने जमर्को गरेको बताउनुभयो । 

अभियानका महासचिव तिलोत्तमा पौडेलले ११ अक्टोबर दिनलाई विश्वभरका बालिकामा समर्पित गर्दै दिवस मनाउने सन्दर्भमा नेपाली बालिकाहरू पनि आफ्ना माग, आवश्यकता र भावना मञ्चहरूमा प्रस्तुत गर्न सक्ने क्षमता बढ्दै गएका छन् भन्दै खुसी व्यक्त गर्नुभयो ।  

प्लान इन्टरनेशनलको धनुषास्थित क्षेत्रीय कार्यालयका प्रत्याभूत सञ्चार संयोजक अन्जु शाक्यले सो अभियान, सेभ द चिल्ड्रेनसँगको सहकार्यमा देशभर एक सयजना भन्दा बढी बालिकाहरूलाई सरकारी र गैरसरकारी संस्थाहरूको नेतृत्व तहमा एक दिनका लागि पदस्थापन गरिने जानकारी दिनुभयो । 

कार्यक्रममा बाँके, धनुषा, सिन्धुलीका किशोरीहरूले आफ्नो क्षेत्रमा बाल क्लब, प्लान इन्टरनेशनलले सञ्चालन गरेको विभिन्न तालिममा सहभागी भएर बालविवाह, बालहिंसा रोक्न र बालबालिकालाई शिक्षाको अवसर प्रदान गराउन काम गरिरहेको धारणा व्यक्त गरेका थिए ।