• १९ वैशाख २०८१, बुधबार

भ्रष्टाचार रोक्न पदमा बस्नेले मानसिकता बदल्नुपर्छ : मन्त्री शर्मा

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा

काठमाडौं, असोज २४ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रष्टाचार रोक्न व्यक्तिको मानसिकता बदल्नु जरुरी रहेको बताउनुभएको छ । 

बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले भ्रष्टाचार रोक्नका लागि व्यक्तिको मानसिकता बदल्नु आवश्यक रहेको बताउनुभएको हो । 

उहाँले सार्वजनिक लाभको पदमा बसेका व्यक्तिहरूको मानसिकताका कारण भ्रष्टाचार भइरहेको बताउनु भयो । उहाँले भ्रष्ट मानसिकतालाई बदल्ने कुरा नै अहिलेको प्रमुख चुनौती रहेको बताउनु भयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोक्ने नभई कारबाहीको दायरामा ल्याउने कुरामा सबै स्पष्ट हुनुपर्ने बताउनु भयो ।

मन्त्री शर्माले मन्त्रिपरिषद्ले गर्ने सबै निर्णयहरूलाई नीतिगत निर्णयको रूपमा हेर्नु गलत भएको भन्दै यसलाई सच्याउनुपर्ने बताउनु भयो । मन्त्रिपरिषद्ले गरेका निर्णयहरू नीतिगत हुन् वा अन्य निर्णय हुन् भन्नेमा भेद छुटाउनुपर्ने भनाइ राख्नु भयो । मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयलाई ठोस र मूर्त गर्नु जरुरी छ, मन्त्री शर्माले भन्नुभयो । 

सञ्चार मन्त्री शर्माले भन्नुभयो, ‘‘सबभन्दा पहिले हाम्रो माइण्ड सेट नै हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार रोकिदिने होइन । भ्रष्टाचार गरिसकेपछि यस्तो हुन्छ है, भन्ने कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको मान्छेलाई यसरी छोड्दैन । कारबाही गर्छ र ऊ कारबाहीको दायरामा पर्नुपर्छ भन्ने कुराको व्यावहारिक रूपमा पुष्टि गरिदिन्छ । त्यो भरपर्दो हुन्छ । विश्वसनीय हुन्छ र अर्को व्यक्तिले गर्न सक्दैन भन्ने कुरा हो । न्यूनीकरण हुन्छ भन्ने कुरा मात्रै हो । रोक्ने र न्यूनीकरण गर्ने भन्ने कुरा त जो सार्वजनिक लाभको पदमा जान्छ उहीँ व्यक्तिको माइन्डसेटकै कुरा मुख्य कुरा हो । त्यसकारण माइन्डसेट बदल्ने कसरी हो त्यहीँ नै हाम्रो प्रमुख चुनौती छ । त्यो सँगसँगै कानुनहरू कार्यान्वयन गर्ने, प्रभावकारी बनाउने र अगाडि बढ्ने कुराले महत्त्वपूर्ण भूमिका राख्छ भन्ने म पनि ठान्दछु ।’’