• २७ वैशाख २०८१, बिहिबार

दसैँकाे चहलपहल : किनमेलको तरिका बदलिँदै

blog

काठमाडौं, असोज २४ गते । चाडबाड नजिकिएसँगै बजारमा चहलपहल बढ्दो क्रम जारी छ । सूचना प्रविधिको आजको युगमा अनलाइनमार्फत आफूलाई चाहेको वा मन परेको सामान घरैमा उपलब्ध हुने सहज वातावरण बनेको छ । आधुनिक प्रविधिको प्रयोगसँगै सरसामान खरीदबिक्रीको तौरतरिका पनि बदलिँदै गएको अवस्था छ ।

काठमाडौंको नयाँ सडकमा व्यवसाय गर्दै आउनुभएका धनराज बराल भन्नुहुन्छ, “पहिलेभन्दा अहिले फरक डिजाइनको सामानको माग हुन्छ । मोबाइलमा टिकटक देखाउँदै सोही किसिमको सामान खोज्दै ग्राहक आउनुहुन्छ ।”

व्यस्त जीवनशैलीका कारण सामाजिक सञ्जालमा राखिएका सामान सहजै प्राप्त हुनु एकातर्फ खुसीको विषय हो । तर यसरी सञ्जाल वा अचेल विशेषगरी टिकटकमा सामानको गलत प्रचारप्रसार भएका कारण उपभोक्ता भ्रममा पनि पर्ने गरेका छन् ।

यसरी सामाजिक सञ्जालमा राखिएको सामानको मूल्य र बजारको यथार्थ भाउ नमिल्दा उपभोक्ता अलमलमा पर्ने गरेको बरालको भनाइ छ । असनका व्यापारी सुनिल बानियाँले दसैंको चहलपहल बढे पनि व्यापार भने बर्सेनि खस्कँदै गएको गुनासो गर्नुभयो । आर्थिक मन्दीका कारण उपभोक्ताको क्रयशक्ति कम हुँदै गएकाले यो अवस्था आएको उहाँको भनाइ छ । 

बानियाँले उदाहरण दिँदै भन्नुभयो, “चहलपहल एकदम छ तर व्यापार चाहिँ छैन । बच्चाको कपडा पसलबाहेक अन्यत्र व्यापार खास छैन । आशा गरौं अब राम्रो होला ।”

यसैगरी, स्थानीय सरोज महर्जनले चाडबाडको सुरुवाती चहलपहल राम्रो रहेको बताउनुभयो । बजारमा महँगीको समस्या एकातिर भए पनि दसैंको बेला नयाँ लुगा लाउने, आफन्तकोमा जाने, टीका र आशीर्वाद थाप्ने परम्परागत चलन रही आएको उहाँले बताउनुभयो ।

घरमा जे छ, जस्तो छ त्यसैमा रमाएर चाडबाड मनाउनुपर्ने भनाइ महर्जनको छ । उहाँले बाल्यकालमा दसैं अझ रमाइलो हुने स्मरण गर्नुहुँदै खुसी भएर चाडबाड मनाउनुपर्ने भनाइ राख्नुभयो ।

यस्तै, सुस्मिता लामाले बालापनमा नयाँ लुगा लगाउन पाइने भनेर खुबै खुसी लाग्ने गरेको अनुभव सुनाउनुभयो । यसपालिको दशैं सामान्य तरिकाले मनाउने योजना उहाँको छ । 

घटस्थापनाका दिनमा जमरा राखी नौ दिनसम्म देवीको पूजाआजा गर्ने र दशमीका दिन आफूभन्दा ठूलाबडाको हातबाट टीका, जमरा र आशीर्वाद थापेर दसैं मनाउने चलन छ । यो बेला पिङ खेल्ने, चङ्गा उडाउने, साथीभाइ आफन्तजन भेटभाट हुने र रमाइलो गर्ने चलन छ । 

आधुनिक प्रविधिको विकाससँगै इन्टरनेट र सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण मानिसको जीवनयापन र चाडबाड मनाउने संस्कृति र शैलीसमेत यसको प्रभाव बढ्दै गएको छ । 


भिडियो : मनोजरत्न शाही र केशब गुरुङ


Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।