• १३ असोज २०८१, आइतबार

काठेगाईलाई सुत्केरी खर्च

blog

प्रनिश गिरी

कुस्मा (पर्वत), असोज २३ गते । पर्वतको बिहादी गाउँपालिकाले लोपोन्मुख स्थानीय काठेगाईको संरक्षण गर्न भनी गाईपालक कृषकलाई सुत्केरी खर्च दिँदै आएको छ । घरमा पालेको स्थानीय गाई सुत्केरी हुँदा कृषकलाई प्रोत्साहनका लागि लोकल गाई संरक्षण कार्यक्रम अन्तर्गत सुत्केरी खर्च दिने गरिएको हो । 

गाई सुत्केरी हुँदा गाईपालक कृषकलाई दुई हजार पाँच सय रुपियाँ दिइने पालिकाको पशु शाखामा कार्यरत कर्मचारी मनोज बैठा बताउनुहुन्छ । उहाँका अनुसार बिहादी पालिकाभरिका किसानले पालेका काठेगाईलाई स्थानीय जातका साँढेबाट प्रजनन गराएर सुत्केरी बनाएमा सुत्केरी स्याहार भत्ताबापत उक्त रकम दिने गरिएको हो । पशु शाखाका अनुसार यस्ता गाईको सङ्ख्या ४५० छ । आर्थिक र सांस्कृतिक महìव बोकेका काठेगाईलाई लोप हुनबाट जोगाउन पालिकाले संरक्षण कार्यक्रम वार्षिक योजनामा दुर्ई वर्षदेखि समावेश गरेको छ । गाउँघरमा किसानले स्थानीय जातका काठेगाईको पालनमा रुचि देखाउन छाडेपछि लोप हुने अवस्थामा पुगेका हुन् । 

बिहादी पालिका–१ का अध्यक्ष चित्रबहादुर गुरुङ भन्नुहुन्छ, “हामीले गाईलाई गौमाताका रूपमा पूजा गर्छौं । पूजाका लागि गाईको गहुँत, गोबर, दुध चाहिन्छ । गाउँघरमा रैथाने गाई नै पाल्न छाडिसकेपछि धर्म र संस्कृतिसमेत लोप हुने भयो । शिवजीको रुद्री पूजा लगाउन खोज्दा गाईको दुध नपाइने भयो । धर्म संस्कृति जोगाउन पनि रैथाने गाईको पालनमा प्रोत्साहन होस् भनी गाई ब्याउँदा कृषकलाई सुत्केरी खर्च दिन लागेको हो ।” अध्यक्ष गुरुङका अनुसार गाउँघरमा अहिले गाई घट्दै जाँदा पहिलेका गौचरणमा जङ्गल र कालो पाती फैलिएको अवस्था छ । दुध धेरै दिने भएकाले नै उन्नत जर्सी जातका गाईपालन गर्छन् । पहिले हरेक घरमा काठेगाई पालिने गरिन्थ्यो । गाउँघरमा हलगोरु नै देखिन छाडेको भन्ने स्थानीयवासीको गुनासो छ । 

बिहादी गाउँपालिकाकी उपाध्यक्ष मीना शर्मा तिवारीले गाईपालक कृषकलाई सुत्केरी खर्च सम्बन्धमा काठेगाईपालनमा प्रोत्साहनले एकातिर हाम्रो धर्म संस्कृतिको संरक्षण हुन्छ भने अर्कोतर्फ गाईबाट जन्मने बाच्छाले पछि गएर खेतबारी जोत्ने गोरुको काम गर्ने बताउनुभयो । उपाध्यक्ष तिवारी भन्नुहुन्छ, “एउटै गाईलाई सुत्केरी भएपिच्छे बर्सेनि सुत्केरीबापत भत्ता दिइने गरिएको छ । कृषक गाईपालनमा उत्साही भएका छन् । कार्यक्रम प्रभावकारी देखिएको हुनाले नै यस वर्ष पनि थप गरिएको हो ।” 

पालिकाको पशु शाखाका अनुसार गत वर्ष गाई संरक्षण कार्यक्रम अन्तर्गत एक लाख रुपियाँ विनियोजन गरिएकोमा यस वर्ष दुई लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । गत वर्ष ४० जना कृषकलाई गाई सुत्केरीबापतको खर्च दिइएको थियो भने खर्चका लागि निवेदन दिने थप १० जना कृषकलाई रकम अपुग भई दिन सकिएको थिएन । चालु आर्थिक वर्ष साउनयता चार जना कृषकले काठेगाई संरक्षण कार्यक्रम अन्तर्गत सुत्केरी खर्च रकम पाऊँ भनी निवेदन दिएको बताइएको छ ।