जीवछ यादव
लहान, असोज २१ गते । मधेश प्रदेशका अर्थ तथा योजना समितिले सिरहामा सञ्चालित शौर्या सिमेन्ट र मारुती सिमेन्ट कम्पनीको अनुगमन गरी मधेश प्रदेश सरकारबारे जानकारी लिएको छ ।
अनुगमनको क्रममा मारुती सिमेन्टले नियमित रूपमा प्रदेश सरकारलाई राजश्व बुझाएको भए पनि शौर्या सिमेन्टले प्रदेश सरकारलाई राजश्व नबुझाएको अर्थ तथा योजना समितिका सभापति तथा प्रदेशसभा सदस्य सतिश सिंहले बताउनुभयो ।
अर्थ तथा योजना समिति अब प्रदेशका विभिन्न उद्योग फैक्ट्रीहरुबाट सङ्कलन हुनुपर्ने राजस्व किन बुझाउन आलटाल भइरहेको ठम्याएर अनुगमनलाई तीव्रता दिइएको उहाँले जानकारी गराउनुभयो । आज आइतबार सिरहा मिर्चैया नगरपालिकामा रहेको मारुती र शौर्या सिमेन्ट फैक्ट्रीको अनुगमन गर्दा मारुती सिमेन्टले तोकिएको उत्पादित प्रतिबोरा एकको दरले राजश्व बुझाइरहेको जनाएको छ ।
शौर्या सिमेन्टले आजसम्म मधेश प्रदेशलाई राजस्व नै नबुझाएको तथ्य फेला परेको समितिका सभापति सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मधेश शौर्या सिमेन्टले प्रतिदिन ३० हजार मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको छ ।
मारुती सिमेन्टले एउटा प्लान्टबाट प्रतिदिन चौधसय र अर्को प्लान्टबाट अठारसय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दैआएको छ । प्रदेश सरकारलाई राजस्व नबुझाउने शौर्या सिमेन्ट कम्पनीलाई आवश्यक कारबाहीको दायरामा ल्याउन अर्थ तथा योजना समितिको बैठक बसेर मधेश सरकारलाई सिफारिस गर्ने सभापति सिंहले बताउनुभयो ।
‘बर्सेनि २० करोड राजस्व बुझाउने मारुती सिमेन्टलाई विद्युत आपूर्ति हुन नसक्दा दुईमध्ये एउटा मात्र प्लान्ट सुचारु रहेको समस्या समाधानका लागि पनि प्रदेश सरकारले चासो लिनु आवश्यक छ’ सभापति सिंहले भन्नुभयो ।
शौर्या र मारुती सिमेन्ट फैक्ट्रीको अनुगमनका लागि अर्थ तथा योजना समितिको सभापति सिंहसँग सदस्य प्रदेशसभा सदस्य रामबाबु यादव, प्रदेशसभा सदस्य त्रिभुवन साह र समितिका अधिकृत सुनिल पासवानको उपस्थिति रहेको थियो ।