अविनाश चौधरी
धनगढी, असोज २१ गते । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एमालेलाई सिद्ध्याउन पार्टीभित्रैबाट प्रयत्न भएको बताउनुभएको छ । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशनको आज धनगढीमा उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “पार्टीभित्रको तत्त्वलाई परिचालन गरेर हाम्रो पार्टीलाई नै सिद्ध्याउने प्रयत्न भएको थियो । तर पनि हामीले पार्टीलाई जोगाएर यस ठाउँसम्म ल्याएका छौँ ।” पार्टी अध्यक्ष म लगायत पार्टीको शीर्ष नेतृत्वलाई साधारण सदस्यबाट समेत हटाउने काम भएको उहाँले स्मरण गर्नुभयो । पार्टी भित्रैबाट भएको डरलाग्दो घेराबन्दीका कारण एमालेले बहुमत प्राप्त गर्न नसकेको उहाँको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभातर्फ दुई सिटमात्रै जितेको भन्दै ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउन एमाले मिसन ८४ मा लागेको बताउनुभयो । उहाँले २०८४ मा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गर्नुभयो । “एमालेको बहुमतको सरकार बन्छ” उहाँले भन्नुभयो ।
यसैगरी, अहिले मुलुकमा देश बदल्ने, जनता सम्झिने सरकार नरहेको उहाँको टिप्पणी छ । वर्तमान सरकारले विकास, सुशासन र जनताको पक्षमा काम गर्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
त्यस्तै, एमाले महासचिव शङ्कर पोखरेलले मुलुकमा राजनीतिक स्थिरता ल्याउने सामर्थ्य आफ्नो पार्टीमा मात्र रहेको बताउनुभयो । उहाँले पार्टीलाई अझ बलियो बनाउनेतर्फ लाग्न सबै नेता, कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो । “आफ्नो आकाङ्क्षा पार्टीको हितमा राख्न सकिँदैन भने पार्टी बलियो हुँदैन” उहाँले भन्नुभयो ।
अधिवेशन उद्घाटनसत्रमा एमालेका केन्द्रीय सचिव एवम् कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा लगायतका नेताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा उदघाटनसत्र भएको थियो । प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि भइरहेको अधिवेशन भोलिसम्म चल्ने सो दलले जनाएको छ ।