गोरखापत्र अनलाइन
काठमाडौं, असोज २१ गते । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदमा पेस गरेको विद्युत विधेयक २०८० लाई परिमार्जनको आवश्यकता रहेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी हुनेगरी सरकारले सो विधेयक परिमार्जन गर्नुपर्ने बताउनुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र वैदेशिक लगानी बढाउने काममा पनि सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘यो विधेयकलाई परिमार्जन गर्न, समृद्ध बनाउन आवश्यक छ भन्ने म आग्रह गर्न चाहन्छु । यो विधेयकलाई सार्वजनिक क्षेत्रलाई अलि बढी महत्त्व दिएर निजी क्षेत्रलाई कमजोर आङ्कलन गरेको होकी भन्ने आशङ्का गरिएको छ । यसतर्फ हामीले गम्भीरतापूर्वक हेर्नुपर्ला ।’
सरकारी र निजी क्षेत्र दुवैलाई यो काममा संलग्न गराउन आवश्यक रहेको चर्चा गर्नुहुँदै प्रमुख सचेतक लेखकले विद्युतको सन्दर्भमा, यसको उत्पादनको सन्दर्भमा वैदेशिक लगानीलाई आकर्षण गर्न जरुरी रहेको बताउनुभयो ।
साथै आन्तरिक तथा निजी लगानीको सुरक्षाको खाँचो रहेको पनि उहाँले बताउनुभयो । “अहिले हामीले जति विद्युत उत्पादन गरिराखेका छौँ । त्यसको पनि ठुलो हिस्सा निजी क्षेत्रले उत्पादन गरेको छ । अहिले जो निर्माणाधीन योजनाहरू रहेका छन्, त्यसको पनि ठुलो क्षेत्र निजी क्षेत्रले ओगटेको छ” प्रमुख सचेतक लेखकले भन्नुभयो, “सरकारले पनि आफ्नोतर्फबाट उत्पादन र प्रसारणको काम गरोस् । निजी क्षेत्रलाई पनि प्रोत्साहित गर्दैलिएर जाओस् भन्ने नीति हामीले अवलम्बन गर्नुपर्छ ।”
नेपाली जनतालाई गुणस्तरीय, सस्तो र सुलभ विद्युत उपलब्धताको ग्यारेन्टी सरकारले गर्न जरुरी रहेको उहाँले बताउनुभयो । “विधेयक राम्रो आएको छ । सरकारले राम्रो पहल, प्रयत्न गरेको छ । यसलाई थप परिमार्जन गर्न यसमा गम्भीरतापूर्वक छलफल गरेर यसमा केही संशोधन गरेर, परिमार्जन गरेर अघि बढ्नुपर्छ भन्ने आग्रह गर्न चाहन्छु” उहाँले भन्नुभयो ।